RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/१ गते
४४० पटक

कर्णाली प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तनलाई ध्यानमा राख्दै समावेशीकरण बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास समितिले आयोजना गरेको लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण बजेट विश्लेषण सम्बन्धी कार्यक्रममा सांसदहरुले आगामी वर्षको बजेटमा जलवायु परिवर्तन, लैङ्गिक समानता र अपाङ्गमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

जलवायुजन्य तथा वातावरण संरक्षणका लागि प्रभाकारी कार्य योजनासँगै आवश्यक बजेट विनियोजन गर्नसके जलवायुजन्य विपद्बाट निम्तिने जोखिम कम हुने सांसदहरुको भनाइ छ । उनीहरुले जलवायुजन्य विपद्बाट पुग्ने मानवीय तथा भौतिक क्षति कम गराउन प्रभावमा आधारित पूर्वसूचना प्रणाली जडान गरी सबै प्रकारका विपद्को पूर्वसूचना दिएर सबै प्रकारका क्षति कम गर्नतर्फ पहल गनुपर्ने धारणा राखे ।

सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले लैङ्गिक समावेशीकरण र जलवायु परिवर्तनमा जनप्रतिनिधिको चासो र चिन्ता बढेकोप्रति खुशी प्रकट गरिन् । उनले जलवायु परिवर्तन र समावेशीकरणका क्षेत्रमा बजेट बढ्ने भनेकोले काम गर्नलाई उत्साह थपेको बताइन्

। अध्यक्ष ओलीले विकासमा प्रदेश सरकार आत्तिएको र हतारिएको जस्तो भएको देखिएको बताइन् । उनले विकास निर्माणका लागि मेसिन भन्दा मानवश्रम प्रयोग गरेमा वातावरणलाई पनि समस्या नहुने बताइन् ।कर्णाली प्रदेश सभा सभामुख राजबहादुर शाहीले अरु प्रदेशको तुलनमा कर्णालीमा बढी विभेद रहेको बताए ।

उनले जातीय, लैङ्गिक र भौगोलिक हिसावमा पनि कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनमा धेरै विभेद रहेको बताए । सभामुख शाहीले विभेदलाई कम गर्नका लागि विचार विमर्श गर्न आवश्यक रहेको बताए । समावेशिकरणका रुपमा राज्यलाई अघि बढाउन आवश्यक रहेको भन्दै उनले वातावरणीय समस्या अझ विकराल रुपमा भोग्नुपर्ने अवस्था रहेको बताए ।

कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती बिष्टले जलवायु परिवर्तनसँग सम्बन्धित विषय जटिल बन्दै गइरहेको बताइन् । उनले गाउँका खोलानालामा पानीको मात्रा घट्दै गएको र कतिपयमा पानी नै पाउन छोडेको अवस्था सिर्जना भएको बताइन् । उनले जथाभावी मेसिन प्रयोग गरेर बाटो खन्दा पानीको स्रोत कम भएको तथा रैथाने बीउ हराएको भन्दै चिन्ता व्यक्त गरिन् ।

कर्णाली प्रदेश सांसद दल रावलले कर्णालीका महिलाको समस्या अन्त्य गर्न छाउपडी प्रथाविरुद्धका अन्य कार्यक्रम अगाडी सारेको बताए । उनले कार्वन टेन्डको विषयलाई ध्यान दिएर कर्णाली सरकार अगाडी बढ्नुपर्ने आवश्यक्ता रहेको बताए । प्रदेश सांसद रावलले हिमालै हिमाल रहेको कर्णाली प्रदेशलाई जलवायुबाट बचाउनुपर्ने भन्दै त्यसको लागि प्रदेश सरकाले योजना ल्याउनुपर्ने बताए ।

कर्णाली प्रदेशका युएसएड प्रोग्राम संयोजक सुरज शर्मा सुआहाराले गर्भवती अवधिदेखि सुत्केरी भएको दुई वर्षसम्म काम गर्न बजेट छुटाउन पर्ने बताए ।

कार्यक्रममा विज्ञहरुले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनमा सरकारको कमी रहेको, आपत्कालीन कार्यमा मात्रै केन्द्रित नभइ पूर्व तयारीमा ध्यान दिन दिनुपर्ने र सरकारले विपद् व्यवस्थापनका क्षेत्रमा ध्यान दिएको छ वा छैन भन्ने बारेमा चनाखो हुनुपर्ने लगायतका विषयमा सांसदहरुले ध्यान दिनुपर्ने बताए ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्