RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/४ गते
९०७ पटक

चौथौ संस्करणको ‘गुरिल्ला अल्ट्रा म्याराथन’ को उपाधि कर्णाली स्पोर्टस जुम्लाका दलबहादुर कुँवरले जितेका छन्।

शुक्रबार सम्पन्न ६२ किलोमिटर लामो गुरिल्ला अल्ट्रा म्याराथन उनले ५ घण्टा ५३ मिनेट २ सेकेण्डमा पूरा गर्दै उपाधि रक्षा गरेका हुन्।त्यस्तै, रूकुम (पूर्व) भूमे– २, खावाङका हिमाल बुढा मगर दोस्रो भए। मगरले निर्धारित दूरी ६ घण्टा २१ मिनेट ६ सेकेण्डमा पुरा गरे।

यस्तै रूकुम पश्चिमका दुर्गाबहादुर बुढाले निर्धारित दूरी ६ घण्टा ३० मिनेट ५७ सेकेण्डमा पूरा गर्दै तेस्रो भए।यसअघि गत चैत २६ गते जुल्मा अल्ट्रा म्याराथनमा दोस्रो भएका कुँवरले यस पटक बाजी मारे।

विजेता कुँवरले ट्रयाक निकै कठिन भए पनि रोमाञ्चक रहेकाले आगामी दिनमा हुने अन्य म्याराथन प्रतियोगितामा निरन्तर सहभागिता जनाउने बताए।त्यस्तै महिलातर्फको उपाधि कर्णाली स्पोर्टस क्लब जुम्लाकै मन्जु रावतले जितिन्।

उनले ६२ किमीको दुरी ६ घण्टा ५६ मिनेट ३६ सेकेन्डमा पार गरेकी थिईन्। सोलुखुम्बुकी अनिता राईले ८ घण्टा ३१ मिनेट ४० सकेन्डमा दुरी पार गर्दै दोस्रो हुँदा ८ घण्टा ३२ मिनेट १ सेकेन्डमा दुरी पार गर्दै रोल्पाकी आस्मति विक तेस्रो भइन्। यस्तै भोजपुरकी अनिता राईले निर्धारित दुरी ८ घण्टा ५८ मिनेट २० सेकेन्डमा पार गर्दै चौथो भईन्।

६२ किलोमिटर म्याराथनको रूट महतगाउँ – लाबाङ – छोर्वाङ – गल्च्योल – तिल्घा – ढङ्नै – जलजला –थबाङ – पोर्पोछेडा – मारिङ – ठूलोलेक हुँदै महत पुगेर टुंगिएको थियो।

यस्तै १० किलोमिटरको प्रतियोगितामा पुरूषतर्फ रूकुम (पूर्व), भूमे-३ झुम्लाबाङका जीवन थापा मगर विजयी भए। उनले निर्धारित दूरी एक घण्टा दुई मिनेटमा पार गरे। रूकुम पश्चिम बाफीकोटका केशव बुढामगरले उक्त दूरी एक घण्टा ४ मिनेटमा पार गर्दै दोस्रो हुँदा रुकुम (पूर्व) भूमेका सन्दिप बुढाले उक्त दूरी १ घण्टा ६ मिनेटमा पार गर्दै तेस्रो भए।

यस्तै १० किमी विधा अन्तर्गत महिलातर्फ रूकुम (पूर्व)को सुनकुमारी सुनार विजेता भइन्। शुक्रबार सम्पन्न प्रतियागितामा सुनारले १० किलामिटरको दुरी १ घण्टा ४० मिनेटमा पुरा गरिन्। रूकुम(पूर्व) भूमेकी प्रिया पुन मगर दोस्रो भइन्। उनले निर्धारित दूरी १ घण्टा ५० मिनेटमा पार गरेकी थिइन्। यस्तै  निर्धारित दूरी २ घण्टा ९ मिनेटमा पार गरेकी विनिता शेर्पाली तेस्रो भइन्।

१० किलोटिरको रूट महत हुँदै लाबाङ– र्धाशालाबाट पुनः महतसम्म थियो।

६२ किमी विधाका विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार र चौथोलाई ८ हजार नगद पुरस्कार र प्रमाणपत्र दिइएको थियो। यस्तै पाँचौ देखि १० औं सम्मा हुने विजेतालाई नगद ५ हजार र प्रमाणपत्र दिइएको थियो।

त्यस्तै १० किमी विधाका विजेताले १० हजार, दोस्रोले ६ हजार तेस्रोले ३ हजार र चौथो हुनेले २ हजार पुरस्कार पाएका थिए।

पाँचौदेखि दशौं स्थान हासिल गरेकालाई पनि प्रमाणपत्र, मेडल र नगदद्वारा पुरस्कृत गरिएको आयोजकले जनाएको छ।

विजेतालाई प्रतिनिधि सभा सदस्य कमला रोकाले पुरस्कृत दिएकी थिइन्।

तत्कालिन माओवादीले २०५२ सालदेखि सुरू गरेको १० वर्षे सशस्त्र युद्धमा ‘गुरिल्ला’ लडाकु हिँडेका रोल्पा-रूकुमको गोरेटोलाई पछ्याउदै २०७५ देखि  ‘गुरिल्ला अल्ट्रा म्याराथन’ प्रतियोगिता सञ्चालन हुँदै आएको छ।

माओवादी सशस्त्र द्वन्द्वकालको आधार क्षेत्रमा पर्यटन विकास तथा प्रवर्धनका लागि वर्षेनि म्याराथनको आयोजना गरिएको भूमे युवा विकास केन्द्रका संयोजक सुनिल कुमार रोकाले बताए।

माओवादी द्वन्दकालको इतिहासलाई स्मरण गर्न र प्रत्यक्ष र अप्रत्यक्ष भोगाईबाट पाठ सिक्नुपर्ने केन्द्रका सचिव अजय मगरले बताए। यो प्रतियोगितालाई विसुद्ध साहसिक रूपले हेरिदिन समेत उनले आग्रह गरे।

‘चौथो गुरिल्ला अल्ट्रा म्यारथन २०७९’ को संस्करणमा जुम्ला, भोजपुर, सोलुखुम्बु, ताप्लेजुङ, रोल्पा, रुकुम पश्चिम र पूर्व लगायत जिल्लाका ९९ जनाले भाग लिएका थिए। जसमध्ये महिला १९ र पुरूष ८० जना सहभागी भएको आयोजकले जनाएको छ।

रूकुम पूर्वमा प्रत्येक वर्ष आयोजना हुने गुरिल्ला अल्ट्रा म्याराथन प्रतियोगिता भूमे गाउँपालिकाले प्रवर्धन गर्दै आएको र भूमे युवा विकास केन्द्रले आयोजना गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्