RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/६ गते
५६५ पटक

जुम्ला । जुम्ला विमानस्थलबाट तिलाको सहायक नदी जँवाको किनारै किनार ४५ मिनेटको मोटर यात्रापछि जुम्लाको चौधबिस क्षेत्रको लासी बजार पुगिन्छ । लासी पातारासी गाउँपालिकाको केन्द्र पनि हो । राज्य पुर्नसंरचनापछि सिंगो चौधबिस पातारासी गाउँपालिकामा रूपान्तरण भएको हो ।

लासी बजारको ठीक अगाडि जप्न गाउँ छ, जप्नको डिलमा प्राकृतिक ओडार छ, जुन ओडारमा घामपानी छेक्ने र खण्डखण्डमा मानिस जम्मा भएर राडीपाखी बुन्ने, उखान चुड्किला सुनाउने, धान कुट्ने प्रसस्तै ठाउँ छ । यहि ओडारबाट चौधबिसको अनौपचारिक शिक्षाको सुरुवात भएको थियो । चौधबिस क्षेत्रको पहिलो पाठशाला यही जप्न गाउँको ओडार होे । त्यसपछि मात्रै २०१७ सालमा लुम गाउँमा प्राथमिक विद्यालय स्थापना भएको इतिहास छ ।

लुम गाउँमा स्थापना भएको विद्यालयलाई २०३३ सालमा ऋणमोक्ष नामाकरण गर्दै डिल्लीचौरमा सारेर निमावि तह सञ्चालन गरिएको हो । २०३९ सालमा मावि सञ्चालन गरिएको छ । यही ऋण मोक्ष मावि डिल्लीचौरमा हो, मानवशास्त्री डोरबहादुर विष्ट आफ्नो जीवनको उत्तराद्र्धमा जुम्ला पुगेर अशिक्षित चौधबिसमा शिक्षाको दियो बालेका थिए । मानवशास्त्री विष्टको पहलमा बेलायत, जापान र जर्मन सरकारको सहयोगले सुविधा सम्पन्न संरचना निर्माण भएको थियो, डिल्लीचौरमा ।

२०५० सालमा ऋणमोक्ष मावि डिल्लीचौरमा बेलायत सरकारको आर्थिक सहयोगमा सुविधाजनक भवन, बिजुली बत्तीको व्यवस्था गरिएको थियो, यस्तै जर्मन र जापान सरकारको सहयोगमा शैक्षिक सामग्री र छात्राबासको व्यवस्थापन भएको थियो ।’ प्रधानाध्यापक हरिबहादुर बुढाले भने । २०५२ साल पुस २५ गते घर जान जुम्लाबाट हिँडेका उनको अवश्था अज्ञात रहेको छ । डोरबहादुर हराएसँगै धर्माराएको डिल्लीचौरको शैक्षिक गुणस्तर बिस्तारै लयमा फर्किँदै छ ।

जुम्लाका आठ स्थानीय तह मध्य शिक्षामा सबैभन्दा कमजोर पातारासी गाउँपालिका छ, यद्यपि दक्ष जनशक्ति उत्पादनमा ऋणमोक्ष मावि डिल्लीचौरको योगदान कम भने छंैन । हालको गुठिचौर गाउँपालिकाका विद्यार्थी समेत डिल्लीचौरमा पुगेर अध्ययन गर्थे । ‘शिक्षामा चेतना र लगानीको कमिले यार्सा टिप्ने समयमा विद्यालय रित्तो हुन्थ्यो, विद्यार्थी पाटनभरि छरिन्थे, अभिभावकलाई सचेत बनाउन निरन्तरको लामो संघर्षले विद्यार्थीलाई सार्वजनिक बिदाबाहेकका दिन पठनपाठनमा टिकाउन सफल भएका छौं ।’ विद्यालय व्यवश्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बुढाले भने । ‘मानवशास्त्री डोरबहादुर विष्टको योगदनमा चम्किएको विद्यालय बिस्तारै अस्तिपञ्जर जस्तो बनिसकेको थियो, यसलाई लयमा फर्काउन निकै मेहनत गरेका छौं ।’

प्रधानाध्यापक हरिबहादुर बुढाले भने । स्थापना कालमा लैछिरी बुढाको नेतृत्वमा चलेको विद्यालयमा हाल सम्म २० जना प्रधानाध्याक फेरिसकेका छन् । अहिले जिल्लाकै कान्छो प्रधानाध्यापक हरिबहादुर बुढाले विद्यालय दिइसकेका छन् । कक्षा १ देखि १० सम्म पढाइ भइरहेको विद्यालयमा ६ सय विद्यार्थी अध्ययनरत छन् भने २१ जना शिक्षक शिक्षिका कार्यरत छन् ।

शिक्षा तथा मानवस्रोतको सहयोगमा डिल्लीचौरमा सञ्चालन भइरहेको हिमाली छात्राबासमा ५० जना छात्राहरू बसेर अध्ययन गरिरहेका छन् । ‘विगतको समयमा महिनावारी भएका छात्रा विद्यालय आउदैनथे, अहिले विद्यालयले सेनेटरी प्याड उपलब्ध गराइरहेको छ, केही समस्या भएपछि भन्न डर लाग्थ्यो, अहिले विद्यार्थीमैत्री वातावरण तय भएको छ’, छात्रा पुनम बुढाले भनिन् ।

ऋण मोक्ष मावि डिल्लीचौर पातारासी क्षेत्रको शैक्षिक धरोहर भएकोले यसलाई अझ व्यवस्थित बनाउँदै लैजाने पातारासी गाउँपाकिाका शिक्षा शाखा प्रमुख जगतबहादुर शाहीले बताए ।

www.rajdhanidaily.com

प्रतिकृया दिनुहोस्