RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/२२ गते
६७३ पटक

विभिन्न विपद्मा परी कर्णाली प्रदेशमा ३ सय ५ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको ११ महिनामा बाढी, पहिरो, आगलागी, हिमपहिरो, सडक दुर्घटना लगायतका विपद्मा परी कर्णाली प्रदेशमा ३ सय ५ जनाले ज्यान गुमाएका हुन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांक अनुसार प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेतमा ६८ जनाको मृत्यु भएको छ । साघुँरो सडक, अव्यवस्ति संरचना, बढ्दो सवारी चापले दुर्घटना बढेका हुन् ।

कानुन मन्त्रालयका विपद् शाखाका प्रमुख कृष्ण बहादुर रोकायाका अनुसार जुम्लामा २८, कालिकोटमा २३, मुगुमा ३९, डोल्पामा ६ र हुम्लामा ७ जनाको मृत्यु भएको छ । त्यस्तै जाजरकोटमा ३० जना, दैलेखमा २२ जना रुकुम पश्चिममा २० जना, सल्यानमा ६२ जना गरी चालू आवको ११ महिनामा ३ सय ५ जनाले विभिन्न विपद्मा परी ज्यान गुमाएको विपद् शाखा प्रमुख रोकायाले जानकारी दिए ।

कर्णालीमा प्राकृति प्रकोपपछि सबैभन्दा बढी सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या अत्यधिक रहेको छ । जसमा सडक दुर्घटनाबाट कर्णाली प्रदेशका १ सय ६१ जनाले ज्यान गुमाएका छन् । जसमध्ये जुम्लामा १०, सल्यानमा ३६, मुगुमा ३४, सुर्खेतमा २८, जाजरकोटमा २२, दैलेखमा ११, कालिकोटमा ९, रुकुम पश्चिममा ९ र डोल्पामा २ जनाको सडक दुर्घटनामा परी ज्यान गएको मन्त्रालयको तथ्यांक छ ।

विपद जोखिम न्यूनिकरणको मजबुद पूर्वतयारी र ठोस प्रतिकार्य योजना नभएका कारण कर्णालीमा विपद्का घटनासँगै मृत्यु हुनेको संख्या बढेको हो । सुर्खेतमा सोमबार आयोजित विपद् पत्रकारिता तालिमको उद्घाटनमा कानुन मन्त्रालयले विपद्को वर्तमान अबस्था र भएको क्षतिबारे प्रतिवेदन सार्वजनिक गरेको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्युनिकरण तथा विपद् व्यवस्थापनका लागि सुसूचित पत्रकारिता आजश्यक रहेको बताए । घटना भइसकेपछि सूचना दिने, त्रासपूर्ण समचार संप्रेषण गर्ने भन्दा विपद् पूर्वतयारी तथा नागरिकलाई सचेत, सतर्क बनाउने खालको पत्रकारितामा जोड दिनुपर्ने उनले उल्लेख गरे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले मनसुन भित्रिएसँगै सतर्कता अपाउन जरुरी रहेको बताए । उनका अनुसार मानव जीवनमा विपद्को प्रतिकार आवश्यक रहेको र भविष्यमा आइपर्ने विपद् पूर्वतयारिका लागि जोड दिन जरुरी छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना, यूरोपियन यूनियनको आर्थिक सहयोग, यूएनडीपीको प्राविधिक सहयोगमा संचालित सुपर परियोजनाको समन्वय तथा पत्रकार महासंघ कर्णाली प्रदेशको सहकार्यमा तालिमको आयोजना गरिएको हो । तालिममा कर्णालीका ३० जना पत्रकारको सहभागिता रहेको छ ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्