RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/२३ गते
५६० पटक

जुम्ला — पातारासी–३ का किसान कृष्णबहादुर महातराले २ हजार ७ सय २५ वर्गमिटर जग्गामा मार्सी धान रोपेका छन् । २ साताअघि मात्रै प्रिमियमबापत् ३ सय ३५ रुपैयाँ तिरेर उनले उक्त खेतीको बिमा गरेका छन् । अब उक्त मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए उनले बिमाबापत् २६ हजार ५ सय रुपैयाँ पाउनेछन् ।

कृष्णका छिमेकी पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सी धानको बिमा गरेका छन् । २ सय ६० रुपैयाँ प्रिमियम रकम तिरेर बिमा गरेका उनले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । मार्सी धान मुख्य रूपमा कर्णाली प्रदेशको जुम्लामा मात्रै उत्पादन हुने गर्छ । केही वर्षयता मुलुकभित्र र बाहिरसमेत माग बढेपछि यसको उत्पादन बढाउन र किसानलाई खेतीतर्फ आकर्षण गर्न पहिलो पटक बिमा कार्यक्रम ल्याइएको हो ।

मार्सी धानमा रोगकिराको संक्रमण हुनुका साथै प्राकृतिक प्रकोपका कारण उत्पादनमा समेत कमी आउन थालेको किसान बताउँछन् । बिमा कार्यक्रम सुरु भएपछि किसानले ढुक्कसँग खेती गर्न सक्ने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्वास लिएको छ । कम्पनीका अनुसार धान फल्ने विश्वकै उच्च स्थान छुमचौर जिउलोका किसानले मार्सी धानको बिमा गरेका छन् । छुमचौरमा कृषि अनुसन्धान केन्द्र विजयनगरले ६ जातको मार्सी धान रोपेको छ । २ हजार ८ सय ५० मिटर उचाइमा फल्ने मार्सी धानको पहिचान बचाउन पनि बिमा थालिएको कम्पनीले जनाएको छ ।

छुमचौरमा झन्डै ५५० वर्ष अघिदेखि धान खेती गर्न थालिएको बताइन्छ । केही वर्षयता रोगकिराको संक्रमण बढेर उत्पादनमा ह्रास हुन आउन थालेपछि किसानले धान रोप्नै छाडेका थिए । धानमा रोग लागेर वा प्राकृतिक प्रकोपका कारण क्षति हुन पुगेमा दाबी भुक्तानी पाउने भएकोले अब ढुक्क भएर खोती गर्न सक्ने अवस्था आएको पदमबहादुरले बताए । कृषि क्षेत्रको बिमाको लागि सरकारले ८० प्रतिशत रकम व्यहोर्दै आइरहेको छ । बाँकी २० प्रतिशत रकम व्यहोर्ने गरी छुमचौरका १६ जनाले मार्सी धान खेतीको बिमा गरेका उनले जानकारी दिए ।

मार्सीधान जुम्लाको ब्रान्ड भएकाले बिमा कार्यक्रम सुरु गरिएको कम्पनीका जुम्ला शाखा प्रमुख लक्ष्मण शाहीले बताए । ‘मार्सी चामलको माग अत्यधिक छ तर किसान रोगकिरा लागेको भन्दै रोप्न छाड्दै छन्,’ उनले भने, ‘बिमाले किसानलार्ई धानखेतीमा लाग्न प्रेरित गर्नेछ ।’ जुम्लामा प्रतिरोपनी मार्सी धान खेती गर्न किसानको ४ हजार ९ सय ६५ रुपैयाँ खर्च हुने जिल्ला कृषि विकास कार्यालयको आकलन छ ।

बिमाबापत् किसानले सरकारले व्यहोर्ने रकम कटाएर प्रतिरोपनी ५० रुपैयाँका दरले प्रिमियम तिरिरहेको कृषि विकास प्रमुख गणेश अधिकारीले बताए । उनका अनुसार धानबालीमा क्षति भएमा कृषि प्राविधिकले खेतमा गएर मूल्यांकन गर्छन् र त्यहीअनुसार क्षतिपूर्ति दिइन्छ । ‘हाम्रो उद्देश्य छुमचौर जिउलाभरि मार्सी धानका बाला झुलुन् भन्ने हो तर किसान खेती गनै दुःख भयो भन्दै लगाउन मान्दैनन्,’ उनले भने, ‘धान उत्पादनमा कमी आयो र रोगकिरा लाग्यो भनेर किसान निरुत्साहित बनिरहेका छन् । अब बिमाले किसानलाई केही उत्साह दिनेछ ।’

जुम्लामा झण्डै ३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब १५ सय हेक्टरमा काली मार्सी धान रोप्ने गरिएको कार्यालयको तथ्यांक छ ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्