RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/१७ गते
४५६ पटक

जुम्ला । जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पूजाआजाका लागि त्यसतर्फ जुम्लाको एक सरकारी टोली प्रस्थान गरेको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्याय सहित दर्जनौँ भक्तजनको टोली बडिमालिका प्रस्थान छ ।

हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार मङ्गलवार जुम्लाको टोली बडिमालिका गएको जुम्लाका संस्कृतबिद रमानन्द आचार्यले बताउनुभयो ।

उहाँका अनुसार नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँच वटा सलामी,ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोली सहित बडिमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गरिएको छ ।

परम्परादेखि नै हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ । डोटी बाजुराको टोली बडिमालिका आउने जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ । नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका सयौँ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिर सहित बिदाइ गरेका छन् ।

संस्कृत विद् आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बडीमालिका जाने टोली सुरक्षार्थ सीमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालय सँग समन्वय भएको बताउनुभयो । उहाँले भन्नुभयो,“गत वर्ष कोरोनाका कारण सीमित रुपमा टोली बडिमालिका गएको थियो । यस वर्ष नागरिकको उत्साह पनि धेरै देखियो । बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । सोही अनुसार बडिमालिकाबाट टोली आगामी भदौ १ गते अर्थात् १६ दिनपछि जुम्ला फर्किने छ ।”

संस्कृतिले भरिपूर्ण जुम्लाको विकास प्रबद्र्धनमा राज्यले जोड दिनुपर्छ । बडिमालिकामा वर्षमा एक पटक हुने पूजाले बाजुरा र जुम्लाको धार्मिक सहिष्णुताको विकास सँगै धार्मिक पर्यटनलाई समेत उजागर गरेको जिल्ला समन्वय समितिका प्रमुख गोरीनन्द आचार्यले बताउनुभयो ।

www.onlineradionepal.gov.np

प्रतिकृया दिनुहोस्