RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/१८ गते
३५९ पटक

कर्णाली करिडोर बन्द भएको आठ दिनपछि पचालझरना गाउँपालिकाले सडक सञ्चालनको प्रयास सुरु गरेको छ।

साउन ९ यता कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाउने काम भइरहेको छ। पचालझरना गाउँपालिका ८, लाफा खण्डमा अघिल्लो आइतबार पहिरो आएको थियो।

गाउँपालिका अध्यक्ष देवजंग शाहीले सडक अवरुद्ध भएपछि स्काभेटर पठाएर पहिरो पन्छाउने काम भइरहेको बताए। उनले बुधबारसम्म पहिरो हटाएर यातायात खुलाउने योजना रहेको जानकारी लिए।

पचालझरना गाउँपालिका ८ मा पर्ने सो क्षेत्रमा सडकमै पानीमा मूल भएकाले दैनिक हिलो बगिरहन्छ। त्यसैमा माथिबाट ठूलो पहिरो झरेका कारण थप समस्या भएको छ।

स्काभेटर चालक डम्बर तामाङले पहिरो हटाउँदै गर्दा थप पहिरो झर्ने गरेकाले काम केही ढिलो भइरहेको बताए।

कर्णाली करिडोरमा कालिकोट खण्ड ४२ किलोमिटर छ। त्योमध्ये ६ ठाउँमा सडकको नामोनिसान छैन। फुगाड खोलामा पुल नभएकाले पानी बढेपछि यातायात वारपारसमेत हुँदैन। करिडोरमा नाला र खोलामा पुल नभएका कारण बर्सेनि सर्वसाधारणले दुःख पाइरहेका छन्।

www.nagariknews.com

प्रतिकृया दिनुहोस्