RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/२३ गते
२९९ पटक

कालिकोट : वर्षायाम सुरु भएसँगै बर्सेनि कर्णाली राजमार्गमा यात्रुहरूलाई सास्ती हुने गरेको छ। कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै दर्जनौँ ठाँउमा पहिरो जाने समस्याले निरन्तर राजमार्ग अवरुद्ध हुने गरेको छ। जिल्ला सदरमुकाम नजिकै रहेको सुवार खोलामै दिनहुँ सडक अवरुद्ध हुन्छ। बर्सेनि बिग्रिँदै गएको सडकको मर्मतसम्भार र स्तरोन्नतिको काम नहुँदा यात्रुहरूले वर्षायाम सुरु भएसँगै सास्ती खेप्दै आएका छन्।

जिल्ला ट्राफिक कार्यालयका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डका दर्जनौँ ठाँउहरूमा पहिरोले समस्या गरेको छ। जिल्लाको सिमाना दहीखोलादेखि गगने खोला, काले खोला, जिते, सुनार खोला, गल्ली लगायतका ठाउँमा वर्षायाम सूरु भएपछि वर्षा हुँदा पहिरो खस्ने समस्या छ। बेलाबेलामा आउने पहिरोका कारण सडक अवरुद्ध हुने गरेको छ। जसका कारण कर्णाली राजमार्गमा सञ्चालन हुने यात्रुबाहक तथा मालबाहक सवारी साधन र यात्रुहरूले निकै सास्ती खेप्नु परेको छ।

सुर्खेतदेखि कालिकोट जीपमा आएका एक यात्रु मीम बुढाले सुनार खोलाको पहिरोले सडक अवरुद्ध गर्दा सडकको पेटीमै पाँच घण्टा समय बिताएको बताए। उनले भने, ‘सुर्खेतबाट आफूहरू ५ बजे सुनार खोला पुगेका थियौँ। सामान्य पानी परिरहेको थियो। माथिबाट पहिरो बगेर सडक अवरुद्ध थियो। सडकको पहिरो पन्छाउँदा पनि निरन्तर बगेको बगै भयो। पहिरो रोकिएपनि अगाडि ट्रक फसेका कारण राति १० बजे मात्र सडक खुल्यो। खोलाको किनारमा पाँच घण्टा समय बित्यो। त्यहाँ न नास्ता न पानी। आफूहरूसँगै झण्डै ५० वटा गाडीहरू त्यो खोलामा जाममा परेका थिए। राति सदरमुकाम आउँदा सबै गाडीका यात्रुहरूले खाना खान समेत पाएनन्।’

सुर्खेत कालिकोटका ट्रक चालक सन्दीप खड्काले सुर्खेतबाट दैनिक उपभोग्य सामान तथा निर्माण सामग्री ल्याएर कालिकोट हिँड्दा गन्तव्यमा पुग्न मुस्किल हुने गरेको बताए। उनले हिउँदको समयमा एकै दिन सुर्खेतबाट कालिकोट पुग्ने भएपनि वर्षायाम लागेपछि त्यही सडकमा चार दिनसम्म लाग्ने गरेको बताए। उनले भने, ‘कर्णाली राजमार्ग राज्मार्ग जस्तै छैन। ६ पांग्रे गाडीलाई साइड दिन नपुग्ने सडकमा १० पांग्रे गाडी पनि आउँछन्। सडकमा पुरै खाल्डाखुल्डी र हिलाम्मे छ। कति ठाँउमा गाडी फस्दा उकास्नै दिन लाग्छ। गाडीको पनि बिजोग हुन्छ।’

जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमूख सुभराज बमले राजमार्ग अवरुद्ध भयो भनेर दिनहुँ प्रहरीमा यात्रुहरूको फोन आउने गरेको बताए। उनले भने, ‘कालिकोटमा अन्य अपराधका घटनाहरूमा बरु प्रहरीमा कम फोन आउने गरेको छ। बढीजसो राजमार्ग अवरुद्ध भयो भनेर फोन आउछ। आफूहरूले सडक डिभिजनसँग समन्वय गरेर खुलाउने प्रयास त गर्छौं तर पर्याप्त साधन स्रोतको अभावका कारण भनेको बेला सडक खुलाउन सकिँदैन्। सडक डिभिजन कार्यालय जुम्लाबाट एक्साभेटरको व्यवस्था गरिएको छ। तर एक स्काभेटरले कालिकोटको दही खोलादेखि नाम्मासम्मको दूरीमा हुने सडक अवरोध हटाउन सहज छैन। यो समस्याको दीर्घकालीन समाधान गर्न जरुरी छ।’

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर राजिब शर्माले सुनार खोला र गगने खोलाको पहिरोको रोकथामका लागि सडक विभागबाटै विशेषज्ञ टोली अध्ययनका लागि बोलाइएको बताए। उनले यी दुई खोलामा पहिरो रोक्न ठेक्का प्रक्रिया पनि अगाडि बढाएर विशेषज्ञ टोलीको सुझावका आधारमा काम अगाडि बढाउने बताए। उनले भने, ‘कर्णाली राजमार्गको स्तरोन्नतिको काम पनि भइरहेको छ। स्थानीय तहले समन्वय नगरी शाखा सडकहरू खनेर मुख्य राजमार्ग बिगारिदिँदा थप समस्या भएको छ। राजमार्गका विभिन्न ठाँउमा आउने ससाना पहिरो पन्छाउन डोजरको व्यवस्था गरेका छौँ।’

४३ ठाँउमा पहिरोको जोखिम, ५० वटा शाखा सडक

कर्णाली राजमार्गको दहीखोलादेखि जुम्लासम्म ४३ ठाँउमा बर्सेनि पहिरो जान्छ। कालिकोट र दैलेखको सिमाना दहीखोलादेखि जुम्लासम्म दहीखोला, गगने खोला, काले खोला, एसमोड, जिते बजार, शेरीघाट, मेयर खोला, सुनार खोला, ताडी, गल्ली, सिम्लेगाड, मोल्फा, पिली, शेराबाडा, बाली, राचुली, भिक्म, राराली लगायतका ४३ ठाँउमा बर्सेनि पहिरो जाने गरेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ।

कर्णाली राजमार्गलाई बर्सेनि दिनहुँ अवरोध गर्ने यी ४३ ठाँउमा जाने पहिरोको रोकथाम तथा सडकको स्तरोन्नती मुख्य आवश्यकता हो। कालिकोटका प्रमूख जिल्ला अधिकारी रामहरी शर्माले भने, ‘यसका विषयमा डिभिजन सडक कार्यालय जुम्लासँग निरन्तर समन्वय भइरहेको छ। विगतका वर्षहरूमा हप्तौँसम्म सडक अवरुद्ध हुने समस्या थियो। यो वर्ष भने हप्तौं सडक अवरुद्ध हुन दिएका छैनौँ। डिभिजन सडकको डोजर स्टेनबाई राखेका छौँ। जहाँ समस्या आउँछ त्यहाँ पठाउछौँ।’

यस्तै कर्णाली राजमार्गमा थप ५० शाखा सडकहरू बनाइएको ठाँउमा पनि पहिरो खस्ने समस्या छ। अव्यवस्थित रूपमा स्थानीय सरकारले धमाधम सडक खनेर मुख्य राजमार्गलाई अवरोध गर्ने काम गरेका छन्। एक प्राबिधिकले भने, कर्णाली राजमार्ग नै राजमार्ग जस्तो छैन। न्यूनतम् मापदण्डसमेत पालना नगरी सडक निर्माण भएको छ। स्थानीय तहले पनि जथाभावी डोजर प्रयोग गरेर सडक खन्छन्। त्यसको प्राविधिक स्टमेटबिनै जहाँ पायो त्यहींबाट सडक जोड्छन्। यसले थप समस्या सिर्जना गरेको छ। पहिरो जाने र सडक अवरोध हुने मुख्य कारण साँघुरो सडक, अव्यवस्थित रूपमा काटिएका शाखा सडक, भिरालो जमिन, अत्यधिक वर्षा हुन्। जसका कारण सधैंजसो राजमार्ग अवरोध हुने र यात्रुहरूले सास्ती खेप्नु परेको छ।

www.annapurnapost.com

प्रतिकृया दिनुहोस्