RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/५/८ गते
४०९ पटक

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने आमनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी योजना निर्माण हुने बताएका छन् ।स्थायी कमिटीको मंगलबार ललितपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकमा अध्यक्ष ओलीले नेपालमा एमालेबाहेक राजनीतिक दल वामपन्थी नभएको भन्दै एक्लै चुनावी प्रतिस्पर्धाको तयारी गर्ने बताए ।

बैठकमा स्थायी कमिटीका सदस्य घनश्याम भुसालले वामपन्थी दलबीच गठबन्धन गरेर चुनावमा जानु पर्ने धारणा राखेका थिए । त्यसको जवाफ दिँदै अध्यक्ष ओलीले अन्य वामपन्थी हुन भनेर आफूलाई प्रमाणित गर्नुपर्ने बताएका थिए ।

‘अन्य दलहरुले आफू वामपन्थी हुँ भन्छन् भने त्यसलाई प्रमाणित गर्नुपर्छ । एमालेबाहेक दल वामपन्थी छैनन्,’ ओलीको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘मंसिरमा हुने आमनिर्वाचनमा एक्लै लड्ने गरी तयारीमा केन्द्रीय कमिटीले योजना बनाएर अघि बढ्छ ।’

यसअघि पनि ओलीले सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दल वामपन्थी दल नभएको बताउँदै आएका थिए ।

शुक्रबार र शनिबार हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न मंगलबार स्थायी कमिटीको बैठक बसेको हो । यसअघि स्थायी कमिटीको बैठक वैशाखमा भएको थियो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने राजनीतिक प्रतिवदेनको खाका प्रस्तुत गरेको जानकारी गराए । त्यसैगरी वैशाखमा भएको केन्द्रीय कमिटी बैठकपछि निर्णयहरुको अनुमोदन गरेको छ ।

प्रतिकृया दिनुहोस्