RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/६/१० गते
१९७ पटक

कोभिड १९ को कारणले अधिकांश नेपाली जनता दुई वर्ष मन खुलेर दसैं मनाउन आफ्नो घर फर्किन पाएनन्।

अहिले कोभिड १९ को सन्त्रास पनि कम भएकाले विगतको वर्षमा भन्दा यो वर्ष दसैं मनाउन आफ्नो थातथलो फर्कनेहरूको संख्या बढ्ने अनुमान गरिएको छ। कोभिडकै कारणले जोखिम मोलेर दसैं मनाउन जान धेरै हिच्किचाएका देखिन्थ्यो। यद्यपि अहिले पनि काठमाडौं उपत्यकामा डेंगीको संक्रमण भने कायमै छ ।

यो वर्ष विगतको वर्षका तुलनामा कोभिड १९ को प्रभाव पनि कम भएकाले पनि दसैंमा आफ्नो गाउँघर फर्किनेको संख्या बढ्ने आशा गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले विगत दुई वर्षको दसैं कोभिड १९ को कारणले सर्वसाधारण खुलेर दसैं मनाउन उपत्यका बाहिर नगएकाले पनि यो वर्ष धेरै सर्वसाधारण जान सक्ने बताउँछन् ।

‘गत वर्षमा करिब ५ देखि ७ लाख मात्रै यात्रुहरू दसैं लगायतका चाडपर्व मनाउन उपत्यका बाहिर गएका थिए,’ उनले भने– ‘यो वर्ष कोभिड १९ को प्रभाव खासै नभएकाले पनि करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेका छौं ।’

प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सोमबारदेखि अधिकांश स्कुल तथा कलेज बिदा हुने भएकाले उपत्यका बाहिरिने यात्रुको चाप बढ्ने बताए। ‘घटस्थापनासँगै स्कुल÷कलेज बिदा हुने भएकाले पनि अब दसैं मनाउन जानेका लर्काे सुरु हुनेछ,’ उनले भने– ‘असोज १२ देखि १५ गतेसम्मको अवधिमा भने अत्यधिक यात्रुले काठमाडौंबाट बाहिरिने छन् ।’

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार अहिले काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ५२ हजार र काठमाडौं भित्रिने यात्रुको संख्या ४५ हजार रहेको छ। फूलपातीको दिनदेखि उपत्यकामा भित्रिने यात्रुको भन्दा बाहिरिनेको संख्या ह्वात्तै वृद्धि हुने छ।

गोंगबु बसपार्कको व्यवस्थापन तथा सञ्चालन गर्दै आइरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रबन्ध सञ्चालक सुनिल कुँवरले दसैंको लागि अग्रिम टिकट बुकिङ गर्ने यात्रुको संख्यामा वृद्धि हुँदै आइरहेको बताए।

‘असोज ८ गतेसम्म ६८ हजार यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेका छन्,’ उनले भने– ‘अधिकांश यात्रुले असोज १२ देखि १५ गतेभित्र जाने टिकट काटेका छन् ।’ अहिले नयाँ बसपार्कमा दैनिक १० हजारभन्दा धेरै यात्रुले अग्रिम टिकट बुकिङ गर्दै आइरहेका छन्।

www.nagariknews.com

प्रतिकृया दिनुहोस्