RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/७/६ गते
६७३ पटक

चालु आर्थिक वर्षको पहिलो २ महिना (साउन-भदौ) मा मुलुकको आयात निर्यात दुवै खुम्चिएको छ। आयात खुम्चिनु राम्रो भए पनि निर्यात घटनु राम्रो संकेत होइन।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको भदौसम्मको मुलुकको आर्थिक तथा वित्त स्थितिअनुसार दुई महिनामा कुल वस्तु आयातमा १३ प्रतिशतले कमी आएको छ। भदौसम्म कुल आयात २ खर्ब ७३ अर्ब ६० करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा आयात ७५.९ प्रतिशतले बढेको थियो।

यस्तै यो अवधिमा कुल वस्तु निर्यात पनि ३४.९ प्रतिशतले घटेको छ। भदौसम्म २८ अर्ब ६८ करोड रूपैयाँ बराबर निर्यात पुगेको हो। अघिल्लो वर्ष यो समयमा निर्यात १ सय १५.४ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै वस्तु आयात हुने भारतबाट पनि आयात घटेको छ। भारतबाट हुने ९.५ प्रतिशतले घटेको हो। यसपछि चीन तथा अन्य मुलुकबाट हुने आयातमा क्रमशः १३.३ र २०.७ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ।

बैंकका अनुसार आयात जस्तै निर्यात पनि भारततर्फ सबैभन्दा धेरैले घटेको छ। भारतमा हुने निर्यात ४२.२ प्रतिशतले घटेको हो। यस्तै चीनतर्फ भएको निर्यात २१.६ प्रतिशतले कमी आएको छ। अन्य मुलुक तर्फको निर्यात भने १३.२ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैंचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुको निर्यात घटेको छ।

बैंकका अनुसार निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाको निर्यात घटेको छ। आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानी बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।

बैंकका अनुसार यो अवधिमा कुल वस्तु व्यापार घाटामा ९.४ प्रतिशतले कमी आएको छ। कुल वस्तु व्यापार घाटा २ खर्ब ४४ अर्ब ९२ करोड पुगेको हो। अघिल्लो वर्ष यो अवधिमा घाटा ७०.८ प्रतिशतले बढेको थियो। यो अवधिमा निर्यात-आयात अनुपात १०.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.० प्रतिशत थियो।

यस्तै कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५७.८ प्रतिशत र ४२.२ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०३ प्रतिशत छ।

अघिल्लो वर्षको सोही अवधिमा कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३८.७ प्रतिशत, ०.०२ प्रतिशत र ६१.३ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार भदौसम्ममा रेमिटेन्स आय १९.८ प्रतिशतले बढेको छ। भदौसम्म १ खर्ब ८७ अर्ब ४ करोड पुगेको रेमिटेन्स आएको हो। अघिल्लो वर्ष भदौ सम्ममा रेमिटेन्स आय ५.८ प्रतिशतले घटेको थियो। यस्तै अमेरिकी डलरमा रेमिटेन्स ११.३ प्रतिशतले बढेको छ। भदौसम्म १ अर्ब ४७ करोड अमेरिकी डलर रेमिटेन्स आएको हो।

अघिल्लो वर्ष यस्तो आय ५.३ प्रतिशतले घटेको थियो। भदौसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ सय ६९.९ प्रतिशतले बढेको छ। भदौसम्म १ लाख ३ हजार ८ सय ९८ जना विदेश जाने पुगेका हुन्।

त्यसैगरी  वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ७०.६ प्रतिशतले बढेर ३९ हजार १ सय ८९ जना पुगेको छ।

राष्ट्र बैंकका अनुसार भदौसम्ममा चालु खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष चालु खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो। भदौसम्ममा पुँजीगत ट्रान्सफर १६.९ प्रतिशतले बढेर १ अर्ब ४६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक छ।

भदौसम्ममा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो। यस्तै कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ८९ अर्ब १६ करोड रूपैयाँ पुगेको छ। गत असार अन्तसम्ममा १२ खर्ब १५ अर्ब ८० करोड रूपैयाँ थियो। गत असारका तुलनामा भदौसम्म विदेशी विनिमय सञ्चितिमा २.२ प्रतिशतले कमी आएको हो। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत छ। चालु आवका दुई महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ।

बैंकका अनुसार यो अवधिमा विस्तृत मुद्राप्रदाय १.१ प्रतिशतले घटेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ५.५ प्रतिशतले बढेको छ। यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.९ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ७.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.५ प्रतिशत रहेको छ।

चुलियो महँगी

चालु आर्थिक वर्षको भदौसम्ममा महँगी अकासिएको छ। राष्ट्र बैंकका अनुसार भदौ महिनाको महँगी ८.६४ प्रतिशत पुगेको हो। अघिल्लो वर्ष भदौमा महँगी ३.४९ प्रतिशत थियो।

भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत पुगेको छ। गत भदौको तुलनामा यो भदौमा खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत रहेको छ।

गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरणहरू, शिक्षा र घरायसी उपयोगका वस्तुहरू उपसमूहको महँगी क्रमशः २३.४१ प्रतिशत, १०.५४ प्रतिशत, ९.२५ प्रतिशत, ८.११ प्रतिशत र ७.६९ प्रतिशत रहेको छ।

भदौमा काठमाडौं उपत्यकामा ७.६२ प्रतिशत, तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत महँगी पुगेको छ। गत भदौमा यी क्षेत्रहरूमा क्रमशः ३.२३ प्रतिशत, ३.६५ प्रतिशत, ३.९६ प्रतिशत र ३.५१ प्रतिशत महँगी थियो। भदौमा वार्षिक बिन्दुगत थोक महँगी १४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो महँगी ३.११ प्रतिशत थियो।

www.nagariknews.com

प्रतिकृया दिनुहोस्