RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/८/१९ गते
२५० पटक

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभानिर्वाचन अन्तर्गत कर्णाली प्रदेशका जिल्लामा करिब १६ प्रतिशतसम्म मत बदर भएको पाइएको छ।

सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले दिएको प्रारम्भिक तथ्यांकअनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मात्रै ८ हजार ३१८ मत बदर भएको छ।

दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक लाख ५४ हजार ८११ मत खसेकोमा आठ हजार ३०० भन्दा धेरै मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जनाकारी दिए। यो करिब ५.३७ प्रतिशत हुन आउँछ।

पाँच वर्षअघिको निर्वाचनको तुलनामा बदर मतको दर घटे पनि कर्णालीमा मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ। यस्तै, सबैभन्दा कम मतदाता रहेको हिमाली जिल्ला डोल्पामा करिब दुई हजार मत बदर भएको छ।

निर्वाचन कार्यालय डोल्पाका अनुसार १७ हजार ८३७ मत खसेकोमा एक हजार ९९९ मत बदर भएको छ। जुन ११ प्रतिशभन्दा धेरै मत बदर हो ।

यस्तै, जाजरकोटमा ११ प्रतिशत मत बदर भएको निवार्चन कार्यालयले जनाएको छ। जाजरकोटमा प्रत्येक मतदान केन्द्रमा ४ देखि ११ प्रतिशत मत बदर भएको पाएको निर्वाचन कार्यालय जाजरकोटका निमित्त प्रमुख नविन कठायतले जानकारी दिए।

सल्यानमा १३ हजार ६१४ मत बदर भएको छ। ८३ हजार ७०४ मत खसेको सल्यानमा १६ प्रतिशत मत बदर भएको हो।

खासगरी, मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरूले निर्वाचन तालमेल गरेपनि मतदाताहरूलाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेकाले मत बदर भएको विश्लेषण गरिएको छ।

प्रतिकृया दिनुहोस्