RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/१०/८ गते
२०७ पटक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संघीयतालाई सही तवरले अघि बढाउन आफूले विशेष जिम्मेवारी निर्वाह गर्ने बताएका छन्।

२८५९ औं सोनाम ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङले आइतबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानमा उल्लेख समावेशी र समानुपातिकको प्रावधानका साथै संघीयतालाई सही तवरले अघि बढाउन आफूले विशेष जिम्मेवारी निर्वाह गर्ने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको पनि बताए। सामन्ती एकतात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझैं जारी रहेका बेला वैदेशिक सांस्कृतिक हस्तक्षेप हुन थालेकाले नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको प्रधानमन्त्री प्रचण्डले बताए।

उनले वर्तमान सरकारमा तामाङ समुदायका प्रतिनिधित्व गर्नेलाई मन्त्री बनाउने प्रतिवद्धता जनाए। ल्होछार पर्व केबल तामाङको मात्रै पर्व नभएको भन्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि भएको धारणा राखे।

सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ।

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन्।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार ल्होछार मनाउँदै आएका छन्।

प्रतिकृया दिनुहोस्