RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/१०/१२ गते
२४४ पटक

खोटाङको साकेला गाउँपालिकाले वडा वडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। चालु आर्थिक वर्षको दोस्रो चौमासिक भत्ता गाउँपालिकाले प्रत्येक वडामा आयोजित शिविरमार्फत वितरण गरेको हो।

बैङ्किङ प्रणालीमार्फत त्रैमासिक रुपमा वितरण गर्नुपर्ने भत्ता यसअघिदेखि नै वडा वडा पुगेर वितरण गर्दै आएको गाउँपालिकाले यो दोस्रो त्रैमासिकको भत्ता पनि वडामै पुगेर बाँडेको हो। गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार लक्षित बर्गलाई दुःख नहोस् भनेर घर पायक पर्ने गरी शिविर राखेर भत्ता वितरण गरिएको हो। वडामा सञ्चालित शिविरमा गाउँपालिका र बैंकका कर्मचारीको संयुक्त टोली खटाएर भत्ता वितरण गरेको उनले बताए।

वृद्ध वृद्धाहरू हिँडडुल गर्न नसक्ने, गाउँपालिका केन्द्रमा रहेको बैंक आउन खर्च र शारीरिक कष्ट हुने तथा अशक्त र अपाङ्गतालाई थप गाह्रो नहोस् भनेर वडामै शिविर राखेर भत्ता बाँडेको अध्यक्ष राई बताउँछन्। साकेलाले सामाजिक सुरक्षा भत्ता वितरणको सम्झौता गरेको नेपाल एसबिआई बैंकका कर्मचारीलाई पालिकाका कर्मचारीसँगै खटाएर भत्ता वितरण गरिएको हो।

जनप्रतिनिधि भनेको जनताको सेवक र अभिभावकसमेत भएको र अझ ज्येष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरूलाई सहज सेवा दिन शिविर राखेको अध्यक्ष राईले बताए। जनताको सेवाका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै उनले हिँडडुल गर्नै नसक्ने कतिपय अशक्तहरूलाई बैंक र गाउँपालिका कर्मचारीलाई घरघर खटाएर भत्ता दिने गरेको बताए।

गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चामलिङ राईले दोस्रो त्रैमासिकमा ४ सय ८१ जना लाभग्राहीलाई ५५ लाख २९ हजार ५ सय रुपैँया वितरण गरिएको बताए। उनका अनुसार भत्ता वितरण गर्न ६ वटै वडामा माघ ३ गतेदेखि १० गतेसम्म शिविर सञ्चालन गरिएको थियो। पहिलो दिन वडा नं। ३ को खिदिमाबाट सुरु शिविर १० गते १ नं। वडाको चण्डेश्वरी आधारभूत विद्यालयमा आएर टुङ्गिएको उनले बताए।

पहिलो दिन खिदिमा शिविरबाट ७६ जना लाभग्राहीले ७ लाख ५ सय भत्ता बुझेका थिए  भने दोस्रो दिन ४ नं. वडाको मात्तिमस्थित वडा कार्यालयको शिविरमा ६१ लाभग्राहीले ६ लाख ५४ हजार भत्ता लिए। त्यस्तै तेस्रो दिन ५ नं. को मात्तिमबिर्ता स्थित वडा कार्यालयमा सञ्चालित शिविरबाट ९६ जनाले १० लाख ९४ हजार भत्ता पाउँदा  माघ ६ गते २ नं. वडाको रतन्छामा आयोजित शिविरमा १ सय ९ जनालाई १२ लाख ५९ हजार भत्ता बाँडिएको संयोजक चामलिङले बताए। ९ गते १ नं. वडा कार्यालय बाँझेच्यानडाँडामा ७७ जना लक्षित समूह ८ लाख ७१ हजार रुपैयाँबाट लाभान्वित भए। अन्तिम दिन १० गते १ नं. वडाकै चण्डेश्वरी आधारभूत विद्यालयमा आयोजित शिविरबाट ७१ जना लाभग्राहीले ७ लाख ५१ हजार रुपैंया भत्ता पाएको राईले बताए।

नेपाल एसबिआई बैंकका साकेला शाखा प्रबन्धक असिम इङ्नाम लिम्बुले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गाउँपालिकाको सम्झौता अनुसार अध्यक्षको आग्रहमा वडा वडामै कर्मचारी खटाएर भत्ता वितरण गर्दै आएको बताए। बैंक नजिक घर भएका लाभग्राहीहरूले भने देशभरका जुनसुकै शाखाबाट पनि भत्ता लिन सक्ने व्यवस्था रहेको प्रबन्धक लिम्बुले बताए।

वडामै शिविरमार्फत भत्ता वितरण गर्दा सेवाग्राहीहरू खुसी भएका छन्। गाउँपालिका केन्द्रमा रहेको बैङ्कसम्म घण्टौँ लगाएर पुग्नुपर्ने, पुगेर लाइन बस्दै गर्दा कहिलेकाहीँ समय सकिएर रित्तो फर्कनुपर्ने अवस्था हटाएकोमा वृद्ध वृद्धा र अशक्तहरूले जनप्रतिनिधिलाई धन्यबाद दिएका छन्। १ नं. वडा बासी ज्येष्ठ नागरिक ललित देउजाले बैंक धाएर भत्ता लिनुपर्ने बाध्यता हटाउँदै घर नजिकै आएर भत्ता दिएकोमा खुसी व्यक्त गरे। ‘अध्यक्षज्यूले हामीजस्ता वृद्ध वृद्धालाई धेरै सजिलो पारिदिनु भएको छ’ वृद्ध देउजाले खुसी हुँदै आशीर्वाद दिए ‘यस्तै राम्रा राम्रा काम गर्दै जानुहोस्, हाम्रो सधैँ आशीर्वाद छ है?’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले साकेलामा चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा १ हजार ३ सय ३ जना लाभग्राही रहेको बताए। उनका अनुसार  जसका लागि १ करोड ३० लाख २८ हजार ६ सय २६ रुपैँया निकासा भएको छ। साकेलाले आर्थिक वर्ष ०७७/७८ को दोस्रो त्रैमासिकदेखि नै पूर्ण बैंंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्दै आएको पनि अधिकृत राईले बताएका छन्।

www.nagariknews.nagariknetwork.com

प्रतिकृया दिनुहोस्