RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/१०/१२ गते
११२७ पटक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरस्वती पूजा नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर भएको बताएकी छन्।

‘आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो ।’राष्ट्रपतिको सन्देशमा भनिएको छ

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्याकी देवी सरस्वतीको हामी सबैमा कृपा रहिरहोस् भनी भण्डारीले शुभकामना गरेकी छन्। सरस्वतीलाई शिक्षा, ज्ञान, कला र सङ्गीतकी आदिस्रस्टाका रूपमा मानिने परम्परा रहिआएको उनको भनाई छ ।

अर्को हातमा रहेको पुस्तकलाई अक्षरको स्रोत मानिएको छ । क्षय नहुने रचनालाई अक्षर भनिन्छ । लेखिएका कुराहरू कहिल्यै नाश हुँदैनन् भन्ने भावबाट नै मानव सभ्यताले लेख्य भाषाको विकास र परिष्कार गरेको पाइन्छ ।

वसन्त पञ्चमीकै दिन बालबालिकाहरूलाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने, कला(सङ्गीतका साधकहरूले आफ्ना कुची एवं वाद्ययन्त्रहरूलाई सरस्वतीकै देन मानेर पूजा गर्ने परम्परा विकास भएको सन्देशमा उल्लेख छ ।

साहित्यकार र कविहरूका लागि वसन्त आफैंमा नयाँ रङ्ग र फूलहरूको उत्सव हो । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै हिउँदको जाडोबाट क्रमशस् न्यानो हुँदै जाने हुनाले आजको दिनले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ ।

प्रतिकृया दिनुहोस्