RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/१०/२० गते
२२४ पटक

तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन्। चिसो मौसममा तातोपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन्।

तातोपानी गाउँपालिका  २ मा रहेको जर्मी गाउँमा अहिले दैनिक १ सय जनाभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्। शनिवार र विदा दिन अझ धेरै पर्यटक आउने गरेका तातोपानी धाराका कर्मचारी धनबहादुर रावतले बताए।उनका अनुसार प्रति महिना अहिलेको सिजनमा १ लाख १५ देखि २० हजार रुपैयाँसम्म  आम्दानी हुने गरेको छ।तर गर्मी सिजनमा भने पर्यटकको सङ्ख्या घट्ने गरेको उनले जनाए।तातोपानी धाराबाटै वार्षिक करिब १२ देखि १४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।

अहिले विदेशी नागरिकलाई प्रवेश शुल्क १ सय तथा अन्यलाई ३० रुपैयाँ टिकट दर कार्यान्वयन भइरहेको कर्मचारी रावतले बताए।धाराको सञ्चालन तथा व्यवस्थापन विषयमा तातोपानी गाउँपालिकाले कार्यविधि समेत बनाएको छ। तातोपानी गाउँपालिका ( २ का अध्यक्ष चन्द्रमान बुढाले कार्यविधि भर्खर पास भएको र कार्यविधि अनुसार नयाँ शुल्क निर्धारण गर्ने तयारी भइरहेको जानकारी दिए।उनले अहिले धाराको व्यवस्थापनको जिम्मेवारी वडा कार्यालयले लिएको बताए।उनका अनुसार ३ जना कर्मचारी रेखदेखका लागि राखिएको छ।

तातोपानीमा नुहाउन पाउँदा भने पर्यटक खुशी देखिन्छन्। जुम्लामा हिउँदे सिजनमा चिसो पानीमा नुहाउन कठिन हुने भएकाले तातोपानीमा नुहाउनेको भिड पनि लाग्छ। अझ शनिवारको दिन कार्यालयका कर्मचारी तथा आन्तरिक पर्यटकहरु नुहाउन आउने गरेका छन्। तातोपानीमा नुहाउन आएका जुम्ला सिंजा  गाउँपालिकाका  ६ कि बाचुँ बुढाले तातोपानीले नुहाउने मात्रै नभइ औषधि समेत हुने विश्वास रहेको बताइन्।पछिल्लो समय तातोपानीमा सरसफाइ पनि निरन्तर गर्ने गरिन्छ। गाउँपालिकाले तातोपानीको सरसफाइमा बढी जोड दिएको अध्यक्ष नन्दप्रसाद चौलागाईँले  बताए।

उनले जिल्लाकै पर्यटकीय केन्द्र तातोपानी भएको हुँदा यसलाई विशेष ध्यान दिने टिप्पणी गरे।तातोपानीको धारा व्यवस्थापनका लागि पर्याप्त बजेट अभावका कारण समयअनुकूल संरचना बनाउन नसकिएको उनले जनाए।तर यसका लागि स्थानीय सरकारले पहल गरिरहेको छ। अहिले महिलाहरु नुहाउने धारा सुरक्षित गरिएको वडा कार्यालयले जनाएको छ। तातोपानीमा जुम्लासहित नजिकको जिल्ला कालीकोट, मुगु, जाजरकोट, डोल्पाबाट पनि मानिसहरु नुहाउन आउने गरेका छन्।

www.nagariknews.nagariknetwork.com

प्रतिकृया दिनुहोस्