RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/११/१८ गते
२५६ पटक

नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनलाई भन्दा ‘मिसन ग्रासरुट’ अभियानलाई प्राथमिकतामा राखेको छ। ‘मिसन ग्रास रुट’ अभियानअन्तर्गत सात उपाध्यक्ष र सात सचिवलाई कार्यक्षेत्रमा जिम्मेवारीसहित खटाएर प्राथमितामा राखेको हो।

वर्तमान सरकार निर्माणको बेला पुस १० गते निर्माण भएको पाँच दलीय गठबन्धन भत्किएर आठ दलीय नयाँ गठबन्धन निर्माण भएसँगै एमालेले संगठन निर्माण र सुदृढीकरणलाई अभियानको रूपमा अघि बढाएको हो।

अहिले सुवास नेम्वाङबाहेक सबै उपाध्यक्ष राष्ट्रपति निर्वाचन छाडेर अहिले त्यता व्यस्त भएका छन्। दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत एमालेको फागुन ५ गतेदेखि ‘मिसन ग्रासरुट’ अभियान सुरु भइसकेको छ। पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष नेम्वाङ र केन्द्रीय कार्यालयमा खटिएका नेताबाहेक सबै सो अभियानमा जुटेका छन्। अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ गते सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेपछि अभियान सुरु गरेका थिए।

अभियानअन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिनाका लागि खटिएका छन्। एमालेले एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिएको छ। जसअन्तर्गत उनीहरूलाई ११ वटा कार्यादेश तोकिएको छ। ‘११ वटा कार्यादेशमा सदस्यता नवीकरण गर्ने, पार्टी कमिटीहरूको व्यवस्थापन गर्ने, प्रशिक्षण गर्ने, भेला, बैठक अन्तरक्रिया, स्थानीय समस्या बुझ्ने, पार्टीभित्रको अन्तरविरोध हेर्ने र हलसमेत गर्नेलगायत छन्,’ पार्टीका कार्यालय सचिव भीष्म अधिकारीले भने। उनका अनुसार राष्ट्रपति निर्वाचनको तयारीका लागि अध्यक्ष लगायत नेताहरू काठमाडौं बसेर अन्य सबै नेताहरू ग्रास रुट अभियानमा खटिएका छन्। सो अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिएका छन्। एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।

सो अभियान अन्तर्गत प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्कीलाई खटाएको छ। त्यसैगरी मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरूप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेललाई खटाइएको छ।

वाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङलाई खटाइएको छ। गण्डकी प्रदेश उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पदमाकुमारी अर्याल, नेताहरू किरण गुरूङ, खगराज अधिकारी र थममाया थापालाई खटाइएको छ। लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे खटिएका छन्। कर्णाली प्रदेशमा सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी खटिएका छन्। पार्टीले नेम्वाङलाई कर्णाली प्रदेशको जिम्मेवारी दिएको भए पनि उनी राष्ट्रपतिको उम्मेदवार भएकाले अहिले काठमाडौंमै तयारी अवस्थामा रहेका छन्।

सुदूरपश्चिम प्रदेश उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापालाई खटाइएको छ। विशेष कमिटी (केन्द्रीय कार्यालय) महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र नेता डा. भीष्म अधिकारीलाई खटाइएको छ। महासचिव पोखरेल भने पार्टी अध्यक्षको कामलाई सहयोग गर्नेगरी खटिएका छन्।

www.nagariknews.nagariknetwork.com

प्रतिकृया दिनुहोस्