RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/११/२१ गते
२४७ पटक

कर्णाली । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कर्णाली र सुदूरपश्चिम केन्द्रित आउने बताएका छन् ।

नेपाली काँग्रेस सुर्खेत गुर्भाकोट नगरपालिकाद्वारा आज आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उपसभापति खड्काले कम जनसङ्ख्या भए पनि ठुलो भूगोल ओगटेको कर्णाली तथा सुदूरपश्चिम प्रदेश केन्द्रित बजेट आउने बताएका हुन् । दुवै प्रदेशका लागि न्यून बजेट विनियोजन हुने सङ्घीय सरकारको यसअघिको परम्परालाई तोडिने उनको दाबी थियो ।

‘वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेता विसं २०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कर्णालीका भएका चुनावी अभियानमा मैले नै बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न प्रस्ताव गरेको थिएँ’, उनले भने, ‘यसमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो । अब त्यही मर्म अनुसार काम हुन्छ ।’

पूर्व गृहमन्त्रीसमेत रहेका उपसभापति खड्काले भेरी नदी किनारमा नयाँ सहर निर्माणको काम सुरु गरिएको बताए । छन्चुदेखि उत्तर जोड्ने सडक चार लेनको बनाउन ठेक्का आह्वान गरिएको उनको भनाइ छ । मदन भण्डारी राजमार्ग कालोपत्र, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको छ ।

उनले सरकार बिस्तारका विषयमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्र छलफल हुने जानकारी दिए । उपसभापति खड्काले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुन्छ । त्यसपछि मात्र प्रधानमन्त्री दाहाल नेतृत्वमा काँग्रेस सरकारमा सहभागी हुन्छ ।’

प्रतिकृया दिनुहोस्