RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/११/२१ गते
४४८ पटक

 

दुर्गमको ठूलो अस्पताल भनेर चिनिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कसरी सेवा प्रवाह गरिरहेको छ ?

यो ग्रामीण क्षेत्रमा रहेको नेपालभरिकै सबैभन्दा ठूलो अस्पतालसहितको प्रतिष्ठान हो। सेवाका अलवा प्रतिष्ठानले चिकित्सा शिक्षा र अनुसन्धानमा उल्लेख्य कार्य गर्दै आइरहेको छ। प्रतिष्ठानले प्रतिष्ठानको केन्द्रीय अस्पताल जुम्लाबाट र अर्को, जिल्ला स्वास्थ्य सवलीकरण योजनाअन्तर्गत विभिन्न जिल्लाहरूबाट सेवा दिइरहेको छ । केन्द्रीय अस्पतालमा हाडजोर्नी, मेडिसिन, प्रसूति, सर्जरी, नाक, कान, घाँटी, नेत्र रोगलगायतका  विशेषज्ञ सेवाहरू उपलब्ध छन्। यसका अलवा हुम्ला जिल्ला अस्पताल, मुगु जिल्ला अस्पताल प्रतिष्ठानबाटै एमडीजीपी चिकित्सक खटाइएको छ।

कालीकोटका २ वटा नगरपालिका रास्कोट र तिलागुफामा नगर अस्पताल र दैलेखको राकमस्थित अस्पतालमा हाम्रै चिकित्सकद्वारा सेवा प्रवाह भइरहेको छ। बाजुराको कोल्टी पीएचसीमा हाम्रो प्रसूति रोग विशेषज्ञमार्फत सेवा प्रदान भइरहेको छ। यसका साथै प्रतिष्ठानले एमबीबीएस, एमडी/एमएसलगायत चिकित्सा, नर्सिङ र जनस्वास्थ्यका विभिन्न १३ वटा विषयमा अध्ययन अध्यापनसमेत गराइरहेको छ।

प्रतिष्ठानको परिकल्पना कसरी भयो ? यसले गति लिन कति समय लाग्यो ?
अन्तरिम संविधान २०६३ बमोमिज २०६८ सालमा बनेको ऐनमार्फत प्रतिष्ठान स्थापना भएको हो। यो तत्कालीन संविधानसभा सदस्य नरेश भण्डारीको नेतृत्वमा बलबहादुर महतलगायतको सर्वपक्षीय पहल समिति बनाएर प्रतिनिधिसभामा विधेयक पेस गर्दा पारित भयो। त्यसपछि २०६८ सालमा यसको स्थापना भयो। स्थापनाको अनवरत १० वर्षमा आएर एमबीबीएस, एमडीजीपी, बीएन, बीएमएस, बीपीएच, बी फर्मालगायतका कार्यक्रमहरू सञ्चालन गर्न सफल भएका छौं। चाँडै एमएन, बीएससी नर्सिङलगायतका कोर्स सुरु गर्दैछौं।

प्रतिष्ठानको खास महत्व के छ ?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देशको मात्र नभई विश्वव्यापी रूपमा पिछडिएका क्षेत्र, समुदाय र भूगोलको चिकित्सा क्षेत्रकै मानक हो। त्यसैले यस प्रतिष्ठानले स्वास्थ्य क्षेत्रको गौरवको आयोजना बनाउन सम्बन्धित निकायसँग अनुरोध गरेको छ। यसका महत्वपूर्ण र वैज्ञानिक आधार छन्। नेपालको संविधानले परिकल्पना गरेको स्वास्थ्यमा समान पहुँच, निःशुल्क उपचार, स्रोतहरूमा समतामूलक वितरणतगायतका कुराहरूको व्यावहारिक कार्यान्वयन गर्ने निकाय भनेकै यो प्रतिष्ठान जस्ता निकायहरू हुन्। आज पनि कर्णाली प्रदेशमा कुपोषित बालबालिकाको संख्या ३५ प्रतिशत छ। एक बिरामीलाई कर्णालीबाट रेफर भएर काठमाडौंमा उपचार गराउनुभन्दा प्रतिष्ठानमै उपचार गर्दा कम्तीमा १० गुणा रकम बचत हुन्छ।

यस प्रतिष्ठानका चिकित्सहरूले बिरामीलाई राम्रो व्यवहार गर्दैनन् भन्ने छ नि ?
डाक्टर पनि मान्छे नै हुन्। उनीहरूबाट गल्ती हुन्छ। त्यसलाई रचनात्मक रूपमा सुझाव दिएर सुधार गर्न सकिन्छ। प्रायः मुलुकभरि नै चिकित्सकप्रति बिरामीको असन्तुष्टि आइरहन्छ। यो समस्या प्रतिष्ठानकै मात्र होइन। विगतको जस्तो पनि अवस्था छैन। सुधार हुँदै आएको छ।

यस प्रतिष्ठानबाट उत्पादन भएका विशेषज्ञहरू अवसरका लागि बाहिर जाने र कर्णालीमा सधैं विशेषज्ञ अभाव भनेर समचार लेख्नुपर्ने अवस्था त आँउदैन नि ?
प्रतिष्ठानको ऐनअनुसार पिछडिएका कर्णाली र सुदूरपश्चिमका नौवटै जिल्लाका ४५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो। तर, चिकित्सा शिक्षा ऐन आइसकेपछि सो प्रावधान हट्यो। मैले यी कुरा सरोकारवाला सबैलाई निरन्तर भनिरहेकै छु। तर, दुर्भाग्य यस प्रतिष्ठानबाट पनि अमेरिका पठाउन चिकित्सक उत्पादन गर्ने मेकानिज्म बनिरहेको छ।

तपाईंमार्फत सरकार, चिकित्सा शिक्षा आयोग तथा सरोकारवाला सबैलाई प्रतिष्ठान विशेष पृष्ठभूमि र भिजनले निर्माण भएको प्रतिष्ठान रहेकाले कम्तीमा १० प्रतिशत उक्त पिछडिएको भेगका विद्यार्थीबीच प्रतिस्पर्दा गराउँदा कर्णालीमा विशेषज्ञ फर्किने अवस्था हुन्थ्यो भन्न चाहन्छु। यसका लागि राष्ट्रिय पहल आवश्यक छ।

तपाईँको नेतृत्वमा प्रतिष्ठानले के–के कामको सुरुआत गरेको छ ?
म उपकुलपति हुनुअघि हाडजोर्नी विभाग प्रमुख, सिनेट सदस्य र अस्पताल निर्देशक भएर काम गरेँ। कर्णालीका १० बटै जिल्लामा अप्रेसन समिति, स्वास्थ्य शिविरहरू चलायौं। ४ वर्षअघि २ महिनाकै अन्तरालमा करिब २२ हजार बिरामीको निःशुल्क उपचार र करिव ३ सय बिरामीको अप्रेसन स्वास्थ्य शिविरकै माध्ययमबाट गरिएको थियो।

प्रतिष्ठानले आफ्नो काम, कारबाही र प्रगति विवरण सार्वजानिक गरेको छ ?
मुलुकभरिका मेडिकल कलेजहरूले सार्वजानिक सुनुवाई गर्ने चलन त छैन। सामाजिक लेखा परीक्षणका हिसाबले हामीले नागरिक वडापत्र ठूलो रूपमा टाँसेका छौं। सूचनाको हकको सुनिश्चितताका लागि प्रवक्ताको व्यवस्था गरेका छौं। आगामी दिनहरूमा सबै विवरण सार्वजनिक गर्छौं।

कर्णालीमा जनशक्तिको अभाव र प्रभावकारी सेवा प्रवाह भएन भन्ने गुनासो छ नि ?

जिल्ला अस्पतालहरूको जनशक्ति र सेवा प्रभावकारी बनाउन मूल जिम्मेवारी प्रदेश सरकारको हुन्छ। प्रदेश सरकारको समन्वयमा यस प्रतिष्ठानले हुम्ला, बाजुरा, मुगु, कालीकोट, दैलेखको राकमलगायत क्षेत्रमा सेवा निरन्तर दिएको छ। विगतमा रुकुम, जाजरकोट, सुर्खेत प्रदेश अस्पताल, दैलेखलगायत क्षेत्रमा आवश्यकताका आधारमा जनशक्ति परिचालन गरी सेवा प्रवाह गरेका थियौं। त्यसको गुणस्तरका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन र सेवा प्रवाहको गुणस्तर मापन गर्नुपर्छ।

कर्णालीमा स्वास्थ्य क्षेत्रको विकास गर्न सरकारले के कुरामा ध्यान दिनुपर्ला ?

राजनीतिक नेतृत्वले वास्ता नगर्दा समस्या छ। इतिहासमै पहिलोपटक संघीय सरकारमा कर्णालीकै जनार्दन शर्मा अर्थमन्त्री हुँदा प्रतिष्ठान जुम्लामा पुँजीगत बजेट शून्य भयो। त्यसैले राजनीतिक नेतृत्व पनि सकारात्मक हुन आवश्यक छ। खासमा जनशक्तिको उचित व्यवस्थापन लोक सेवामार्फत पदपूर्ति, विशेषज्ञ चिकित्सकको हकमा तलब सुरक्षा र करिअर अभिवृद्धिबारे विशेष व्यवस्था, राजनीतिक हस्तक्षेप बन्द हुुनुपर्छ। र, नियम कानुन लागू गर्नुपर्छ।

कर्णालीको स्वास्थ्य सुधारमा सरकार कहाँ–कहाँ चुकेको जस्तो लाग्छ ?

स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारसम्म बजेटमा स्वास्थ्यलाई प्राथामिकतामा नराखेको अवस्था छ। स्वास्थ्य संस्थामा राजनीतिक हस्तक्षेप बढी छ। जिल्ला अस्पतालको क्षमता वृद्धि हुन सकिरहेको अवस्था छैन। राम्रो र गुणस्तरको जनशक्तिलाई कर्णालीमा आकर्षण गर्न सकेको अवस्था छैन। सरकारको स्वास्थ्य हेर्ने मन्त्रालयमा विज्ञ समूहको अभाव  छ। यस क्षेत्रमा नितान्त गलत व्यक्तिको हालीमुहाली छ। संस्थाहरूमा संगठित भ्रष्टाचार रोक्न सकेको अवस्था छैन। यस्ता विषयमा सबै तहका सरकार चुकेका छन्।

स्वास्थ्य सेवामा कर्णालीवासीको पहुँच कत्तिको छ ?

हात भाँचिएको बिरामी ३ दिन पैदल हिँडेर प्रतिष्ठानमा आउनुहुन्छ। संविधानमा लेखिएको छ : ‘समतामूलक पहुँच स्वास्थ्य सेवामा’। वास्तवमा संघीयता आएको कर्णालीको हकमा सुर्खेतका लागि होइन। हुम्लाको लिमी, रिप, डोल्पाको फोक्सन्डो, मुखुरी, कार्मारोङ, जाजरकोटको बारेकोटको लागि हो।

तर, यहाँ त सुर्खेतको जग्गाको मूल्य वृद्धि गर्न मात्र संघीयता आए जस्तो देखिन्छ। वास्तवमा यो प्रतिष्ठानको स्थापना नै संघीयताको सुन्दर उदाहरण हो। तर, दुःखद कुरा भित्री रूपमा स्वास्थ्यमा कर्णालीका नागरिकको पहुँच निकै कम छ। प्रतिष्ठानले तत्कालीन र दीर्घकालीन धेरै योजनाहरू बनाएर अगाडि बढिरहेको छ।

प्रस्तुति : बिस्नप्रसाद न्यौपाने

www.annapurnapost.com

प्रतिकृया दिनुहोस्