RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/१२/९ गते
२७० पटक

सुर्खेत । जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन् तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदीमाथि र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारीपट्टी थन्क्याउनु पर्ने बाध्यता रहेको छ । दुईमध्ये एक एम्बुलेन्स वर्ष दिन अघिदेखि सञ्चालनमा छैन । अर्को एम्बुलेन्सले भेरी नदी पारीपट्टीसम्म मात्र सेवा दिने गर्दछ ।

झण्डै एक किलोमिटर टाढाको दुरीमा एम्बुलेन्सबाट बिरामी झारेर स्टेचरको माध्यमबाट बिरामीलाई अस्पतालसम्म लिने र ल्याउने गरिन्छ ।

स्टेचरमा राखेर बिरामी लिन र  ल्याउन समेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठूलीभेरी नवराज थापाले बताए । अस्पतालबाट बाहिर लिनका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्स सम्म पुर्‍याउन समस्या हुँदै आएको छ ।

कतिपय गर्भवतीलाई अस्पतालसम्म ल्याउँदा ,ल्याउँदै बाटोमै सुत्केरीसमेत हुने गरेको डाक्टर सुस्मिता जोशीले बताइन् । अस्पताल बिरामी लिन र ल्याउन भेरी नदी बाधक देखिएको छ । भेरी नदीमा पुल निर्माण नहुँदा १ किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरको भरमा मुस्किलले अस्पताल सम्म बिरामी पुर्‍याउने गरिएको डाक्टर जोशीले बताइन् ।

अहिले झोलोङगे पुलको सहारामा बिरामी तथा यहाँका सर्वसाधारणहरू वल्लो दुनैबाट पल्लो दुनै जाने र आउने गरेका छन् । साँघुरो बाटो एक किलोमिटर हिँडेर अस्पताल सम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामी समस्या समाधानका लागि प्रयास जारी राखेका छौँ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भने ।

२५ शैयाको नयाँ अस्पतालको निर्माण कार्य जारी रहेको छ । अस्पताल निर्माणका लागि आवश्यक सामग्री लिन समेत समस्या हुँदै आएको बताइएको छ । बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरण देखि अन्य सामग्री लिन समेत समस्या रहँदै आएको छ ।

स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा रहेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान र आउन मात्र आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको मातहतमा जिल्ला अस्पताल रहेको छ । भेरी कोरिडोर भित्र दुई वर्ष अघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।

ठूलीभेरी , त्रिपुरा सुन्दरी नगरपालिकाबाट ल्याइएका बिरामीले सबै भन्दा बढी सास्ती भोग्दै आएका छन् ।

त्यस्तै तिब्ला सडक लिने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिँदै छ तर अस्पताल जाने र आउने सडक निर्माण तर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारणहरू आक्रोशित भएका छन् ।

www.nepalpress.com

प्रतिकृया दिनुहोस्