RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०८०/१/६ गते
१८८ पटक

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकार बिस्तारका विषयमा गठबन्धन दलबीच खटपट सुरु भएको छ। प्रदेश सरकारको बिस्तारका लागि संघीय सरकारको गठबन्धनअनुसार नै कर्णालीमा नेपाली कांग्रेसको प्रदेश कार्यसम्पादन समिति र प्रदेश संसदीय दलको बैठक बसी सरकारमा सहभागी हुने मंगलबार निर्णय गरेको थियो।

पाटीको प्रदेश कार्यसम्पादन समितिको निर्णयकै आधारमा प्रदेश संसदिय दलको बैठकबाट नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम सिफारिस गरेका थिए। जसअनुसार माओवादी नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री खड्गप्रसाद पोख्रेल (सुर्खेत), आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह (जाजरकोट) र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री कृष्ण बिसी (दैलेख)को नाम सिफारिस गरिएको थियो।

मंगलबार दिउसो कांग्रेस संसदीय दलको बैठकको निर्णयअनुसार मन्त्रीको नाम सिफारिस गरिएको भए पनि प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले ती मन्त्रीहरुलाई नियुक्ति दिएका छैनन्। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार नै प्रदेश सरकारमा कांग्रेसको तर्फबाट सहभागी हुने मन्त्रीहरुको नाम सिफारिस भइसकेको बताए। उनले भने, ‘मुख्यमन्त्रीज्यूले कहिले नियुक्ति गर्नुहुन्छ। त्यो उहाँको कुरा हो। कांग्रेसले त मंगलबार नै मन्त्रीको नाम सिफारिस गरिसकेको छ। तर नाम सिफारिस भएको २४ घण्टा बितिसक्दा पनि नियुक्ति नहुनु दुःखद कुरा हो।’

नेकपा माओवादी केन्द्रका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माले बाहाना बनाएर मन्त्री नियुक्ति ढिलाइ गरिरहेको कांग्रेसको आरोप छ। नेपाली कांग्रेस प्रदेश कार्य समितिका प्रवक्ता दमनबहादुर शाहीले भने, ‘प्रदेश सरकारका मुख्यमन्त्रीज्यूले कांग्रेसका मन्त्रीहरुलाई नियुक्ति गर्न किन ढिलाइ गर्नुभएको हो। यसको जवाफ चाहिन्छ। कांग्रेसले आफ्नो पार्टीले तय गरेको विधि, प्रक्रिया र मापदण्डका आधारमा मन्त्रीहरुको नाम संसदीय दलबाट सिफारिस भइसकेपछि मुख्यमन्त्रीले रोक्नुपर्ने कारण केही छैन। तर मन्त्री सिफारिस गरेको २४ घण्टा बित्तिसक्दा पनि प्रदेश सरकारका मुख्यमन्त्रीले नियुक्ति नगर्नु यो गठबन्धनको भावना विपरित हो।’

यता प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कांग्रेसले सिफारिस गरेका मन्त्रीहरु नियुक्ति किन ढिलाइ भएको भन्ने विषयमा मुख्यमन्त्रीलाई नै सोध्नुपर्ने बताए। उनले भने, ‘के कारणले मन्त्रीको नियुक्ति ढिलाइ भएको हो। मलाई जानकारी छैन। तर बुधबार साँझसम्म हुन्छ कि भन्ने हो। मुख्यमन्त्रीज्यू आन्तिरिक छलफलमा हुनुहुन्छ।’

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन। उनको फोन उठेन। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शैलेश शर्माले मन्त्री नियुक्तिको विषयमा प्रक्रिया भइरहेको बताए।

www.annapurnapost.com

प्रतिकृया दिनुहोस्