RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०८०/१/११ गते
१५५ पटक

काठमाडौंः संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउन विशेष समिति बनाउने समझदारी बनेको छ। प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच टीआरसी विधेयकमाथि छलफल गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको हो।

संवैधानिक परिषद् सम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्का १० वटा विषयगत र दुई वटा संयुक्त समितिलाई छिट्टै पूर्णता दिइने बताए।

सिंहदरवारमा बसेको तीन शीर्ष दलको बैठकपछि लेखकले भने,‘ विशेष समिति गठन गरेर टीआरसी विधेयक टुंग्याइनेछ। संसदभित्र रहेका राजनीतिक दलहरूले आपसी सहमतिका आधारमा संसद् सञ्चालन गर्नुपर्छ भन्ने सहमति भएको छ।’

बैठकमा संक्रमणकालीन न्याय विधेयक, संवैधानिक परिषद् विधेयकलाई राजनीतिक सहमतिबाटै टुंग्याउने विषयमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र ती दलका प्रमुख सचेतकहरूको सहभागिता थियो।

एमालेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई संसदीय समितिमा लैजाने अडान राख्दै आएको थियो भने सत्ता साझेदार दलले फास्ट ट्रयाकबाट टुग्याँउनुपर्ने बताउँदै आएका थिए।

प्रतिकृया दिनुहोस्