RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०८०/५/६ गते
३३२ पटक

काठमाडौं । सचिव तथा सहसचिवलाई कार्यालय समयमा विभिन्न गोष्ठी, एनजीओ र आईएनजीओको कार्यक्रममा जान निषेध गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरुको नियमित बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सचिव सहसचिवलगायतका सबै कर्मचारीहरूले कार्यालय समयको पूर्ण सदुपयोग गर्नुपर्ने र सो समयमा बाह्य काममा जान नपाइने निर्णय गरेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार अब सचिव सहसचिवहरू कार्यालय समयमा विभिन्न खालका गोष्ठी सेमिनार तथा एनजीओको कार्यक्रममा जान नपाइने गरी निर्णय गरिएको हो ।

हाल विभिन्न मन्त्रालय र निकायमा सचिव तथा सहसचिवहरू कार्यालय समयमा मन्त्रालयमा भेट्नै मुस्किल हुने गरेको गुनासो आइरहेको थियो । मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव बैठकले सो गुनासोको सम्बोधन गरेको बताइएको छ ।

यसैगरी सचिव बैठकले सेवाग्राहीको गुनासो सम्बोधन गर्न र उनीहरूलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न सबै मन्त्रालय र कार्यालयमा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्