RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०८०/६/२८ गते
४३८ पटक

काठमाडौं ।  दुई सातादेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएसँगै आन्दोलन पनि फिर्ता भएको छ।

२० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टाराईको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच वार्ता भएको थियो।

सहमति पत्रमा संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले हस्ताक्षर गरेका छन् ।

संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित थिए । ऐनमा संघ प्रदेश संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने, स्थानीय सेवाका स्थायी कर्मचारीहरूलाई निजामती कर्मचारीका रूपमा परिभाषित गर्ने व्यवस्थाका लागि प्रदेश कानून निर्माणताका पहल गर्ने सहमति भएको छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको पद रहने व्यवस्था गर्ने सहमति पनि भएको छ । संघ प्रदेश र स्थानीय तहमा तहगत प्रणाली लागू गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ ।

प्रतिकृया दिनुहोस्