RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१२ गते
१८५० पटक

पछिल्लो समय समुदाय र परिवारस्तरमा समेत नियन्त्रण गर्न नसकिने गरी कोभिड संक्रमण पैmलिएको जनाउँदै सरकारले यसको नियन्त्रणका लागि कोभिड–१९ रोकथाम सुक्ष्म योजना लागू गरेको छ ।

कोभिड–१९ का बिरामीको व्यापक खोज पड़ताल, तिनीहरूको परीक्षण र उचित व्यवस्थापन र आइसोलेसनको सुनिश्चितता गर्न सरकारले यो योजना सार्वजनिक गरेर कडाइका साथ लागू गरेको जनाएको छ । योजनाअन्तर्गत पालिका, वडा, अपार्टमेन्ट तथा आवासीय क्षेत्र, टोल र परिवारस्तरमा कोभिड संक्रमणको निगरानी गरिने छ । तर यसअघि यस्तै प्रकृतिको नियम लागू गरिए पनि कार्यान्वयन हुन सकेको थिएन ।
योजनामार्पmत कोभिड संक्रमणको रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि समुदायस्तरमा अपनाउनु पर्ने विधिबारे सुझाव र निर्देशन प्रदान गर्ने सरकारले जनाएको छ । कोभिड महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश– २०७८ मा आधारित भई यो कोभिड–१९ रोकथाम तथा नियन्त्रण सुक्ष्म योजना खाका तयार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार समुदायस्तरमा दिनप्रतिदिन संक्रमण बढ्दै गइरहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रणका लागि सक्रिय संक्रमितको ब्यापक खोज पड्ताल, तिनीहरूको परीक्षण र उचित व्यवस्थापनका साथै नजिककालाई समेत निगरानी गर्र्ने योजनाको लक्ष्य छ ।

योजनाले पालिकास्तरमा जोखिम क्षेत्रमा बिरामीको पहिचान गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने, कन्ट्याक्ट ट्रेसिङ र केस व्यवस्थापनको तथ्यांक अद्यावधिक गर्ने आधार तयार गर्नेछ । यसैगरी टोलटोलमा कोभिड सहजीकरण समूह गठन गरी परिचालन गरिने छ ।

वडास्तरमा योजना लागू गरी सहरी क्षेत्रको हकमा पाँचभन्दा बढी र ग्रामीण क्षेत्रमा पाँचभन्दा बढी घर संक्रमित भएमा पूरै वडामा अत्यावश्यक बाहेक आवागमन बन्द गर्न योजनाले कानुनी अधिकार दिएको छ । यो योजनअन्तर्गत सम्पूर्ण वडाबासी क्वारेन्टाइनमा बस्ने र परीक्षण गर्ने, खाद्य, औषधि आदिको उपलब्धता वडाले गर्ने व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

यसैगरी अपार्टमेन्ट तथा आवासीय क्षेत्रहरू एक समुदाय मानेर संक्रमित फेला परेमा घरका सदस्य क्वारेन्टाइनमा बस्नु पर्नेछ । यसको व्यवस्थापन र निगरानी वडाले गर्नेछ । अपार्टमेन्टमा बस्ने सबै लक्षण देखिएकाको तत्काल परीक्षण गर्ने र लक्षण नदेखिएकाको ५ दिनमा एन्टिजेन परीक्षण गर्ने, खाद्य, औषधि आदिको व्यवस्था अपार्टमेन्ट व्यवस्थापन समितिले गर्नुपर्नेछ ।

अपार्टमेन्टभित्र एसी बन्द गर्ने, असमर्थबाहेक अरुले लिफ्टको प्रयोग नगर्ने, दैनिक स्वास्थ्य निगरानी गर्ने र केही समस्या भएमा पालिकासँग समन्वय गर्ने नियम पालना गर्नु पर्नेछ ।

टोलस्तरमा भने सहरमा ५ घर र गाउँमा ७ घरमा कोभिड संक्रमित फेला परेमा, लक्षण देखिएकाको तत्काल परीक्षण गर्ने र लक्षण नदेखिएकाको ५ दिनमा एन्टिजेन परीक्षण गर्न वडाले सहजीकरण गर्नु पर्नेछ । यस्तो अवस्थामा टोलका बासिन्दाका लागि खाद्य, औषधि आदिको उपलब्धताका लागि टोलटोलमा गठित समूहले सहजीकरण र सचेतनाका लागि माइकिङ गर्नु पर्नेछ ।

यसरी नै परिवारस्तरमा परिवारको कुनै एक सदस्यमा कोभिड–१९ पुष्टि भएमा सबै सदस्य क्वारेन्टाइनमा बस्नु पर्नेछ । उनीहरुको खाद्य, औषधि आदिको उपलब्धताका लागि टोलटोलमा गठित समूहले सहजिकरण गर्ने र पालिकाबाट नियमित फोन वा प्रत्यक्ष भेट गर्ने, स्वास्थ्यसम्बन्धी समस्या आइपरे व्यवस्थापन गरिने छ ।

सरकारले यसअघि पनि होम आइसोलेसनमा बसेकाहरू र जटिल अवस्थाका बिरामीलाई सहजीकरण गर्न, स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमनका लागि टोलटोलमा समूह गठन गर्न बजेट नै विनियोजन गरेको थियो । तर सहजीकरण नभएर संक्रमितका आफन्तले सम्पर्क गर्दासमेत कुनै सहयोग नपाएको गुनासा सुनिएका थिए । अहिले पनि सरकारको सुक्ष्म योजना कार्यान्वयन पक्ष भने विगतको जस्तै फितलो हुने होकि भन्ने आशंका गरिएको छ ।

कारोबार दैनिकबाट…………..

 

प्रतिकृया दिनुहोस्