RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१२ गते
१२०६ पटक

हुम्लाका गाउँ–गाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यानै जान थालेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा सातजनाको ज्यान गएको हो ।

चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ । उनीहरू सबैको २६ पुसयता ज्यान गएको हो । त्यस्तै, सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ ।

जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले सिजनल फ्लु भनेका छन् । तर, स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको छ । ‘हाम्रो गाउँमा मात्रै २६ पुसपछि पाँचजनाको ज्यान गयो । ज्वरो र रुघाखोकीका बिरामीको नाकबाट पातलो पानी बग्छ, हड्डी पनि दुख्छ,’ चंखेली–६ मासिधाराका हीराबहादुर शाहीले नयाँ पत्रिकासँग भने, ‘गाउँमा बिरामी नभएको घर भेट्न मुस्किल छ ।’ उनका अनुसार वृद्धवृद्धा र बालबालिका बढी जोखिममा छन्, तर स्वास्थ्य संस्थामा औषधि अभाव छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्