RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२४ गते
१७७० पटक

पोखरा, जेठ २४ गते । गण्डकी प्रदेशमा शनिबार १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार शनिबार स्याङ्जाका १०, कास्कीका तीन, नवलपरासीका तीन र बागलुङका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपरासीको स्वाब भरतपुर अस्पताल चितवनमा परीक्षण गरिँदैआएको र अन्य जिल्लाको पोखरामै परीक्षण गरिँदैआएको छ । शनिबार पुष्टि भएका सबै सङ्क्रमितहरू भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ सङ्क्रमितमा स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुष, हरिनास गाउँपालिकाका १८ र ४० वर्षका पुरुष रहेका छन् । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुष, नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३९ वर्षीय पुरुष रहेका छन् ।

गण्डकी प्रदेशमा हालसम्म स्याङ्जामा २३ जना, बागलुङमा १९, नवलपरासी पूर्वमा १३, पर्वतका नाै, कास्कीमा तीन, तनहुँका तीन जना, म्याग्दीका दुई जना र लमजुङका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये बागलुङका दुई जना महिला तथा लमजुङका एक बालक निको भई घर फर्किसकेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँको परीक्षणमा कोरोनाको सङ्क्रमण पुष्टि गरेका पोखरा महानगरपालिका वडा नं. ८ का एक व्यक्ति केही दिनअघि उपचारका लागि काठमाडौँ गएका थिए । पोखरामै बेहोस भएर ढलेका ती व्यक्तिलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो ।गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्