RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
९४० पटक

काठमाडौं – नयाँ कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय रहेको डब्लुएचओले जनाएको छ। यो भाइरसको संक्रमण विश्‍वभर दुई दर्जन मुलुकमा फैलिइसकेको बीबीसीले जनाएको छ। कोरोना भाइरसले चीनमा अहिलेसम्म २१३ जनाको मृत्यु भइसकेको छ।

तर चीनबाहेक अन्य देशमा कोरोना भाइरसका कारण ज्यान गएको छैन। धेरैजसो चीनको वुहान क्षेत्रबाट विदेश गएकाहरु नै प्रभावित भएका छन्। भारतमा बिहीबार मात्रै एकजनामा कोरोना भाइरस देखा परेको थियो।

अमेरिका, जर्मनी, जापान, भियतनामलगायतका मुलुकमा पनि कोरोना भाइरसका बिरामी फेला परेको बीबीसीमा जनाइएको छ। अस्ट्रेलियामा यसका सात बिरामी भेटिएका छन्। तीमध्ये सात जना चीनको वुहानबाट आएका हुन्। प्रभावितहरूको सिड्नी, मेलबर्न र गोल्ड कोस्टस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सबैभन्दा पछाडि भेटिएका ४४ वर्षीय बिरामी वुहानबाटै आएका हुन्। उनको अवस्था स्थिर रहेको जनाइएको छ।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्