RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१२/२० गते
१०७९ पटक

इस्लामाबाद — पाकिस्तानी राष्ट्रपति डा अरिफ अल्भीले प्रधानमन्त्री इमरान खानको प्रस्तावमा संसद्‍ विघटन गरेका छन् । आइतबार उनले संविधानको धारा ५८ टेकेर संसद्‍ विघटन गरेको घोषणा गरेका हुन् ।

राष्ट्रपति डा अरिफ अल्भीले संसद्‍ विघटन गर्न प्रधानमन्त्री इमरान खानको सुझाव अनुमोदन गरेको बताइएको छ । ‘पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्भीले इस्लामिक गणतन्त्र पाकिस्तानको संविधानको धारा ५८ अन्तर्गत संसद्‍ भंग गर्ने पाकिस्तानका प्रधानमन्त्रीको सल्लाहलाई अनुमोदन गर्नुभएको छ,’ राष्ट्रपतिको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आइतबार बिहानै प्रधानमन्त्री इमरान खानले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले राष्ट्रपतिलाई संसद्‍ विघटन गर्न सुझाव दिएको बताएका थिए । जवकि त्यसअघि नै तय गरिएको संसद्‍को तालिका अनुसार आइतबार इमरान खानमाथि परेको अविश्वासको प्रस्तावमाथि मतदान हुने थियो । खानले मतदानको त्यस चरणलाई नै प्रवेश गराएनन् ।

बरु सभामुखमाथि पनि अविश्वासको प्रस्ताव दर्ता भएपछि उपसभामुख कसिम सुरीको अध्यक्षतामा अविश्वासको प्रस्ताव नै खारेज गरिएको थियो । उपसभामुख सुरीले अविश्वासको प्रस्ताव असंवैधानिक भएको र प्रधानमन्त्री हटाउने विदेशी षड्यन्त्र भएको भन्दै अविश्वास प्रस्ताव खारेज गरिदिएका हुन् ।

त्यसलगत्तै प्रधानमन्त्री खानले संसद्‍ विघटनको प्रक्रिया अगाडि बढाएका थिए । खानले यसअघि शनिबार पनि आफूलाई हटाउन अमेरिकी सहयोगमा विपक्षीहरूले षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

खानको पछिल्लो कदमसँगै पाकिस्तानमा राजनीतिक संकट उत्पन्न भएको टिप्पणी हुन थालेको छ । लामो समयदेखि नै विपक्षी दलसहित विभिन्न समूहहरू खानको राजीनामा माग गर्दै आन्दोलनरत छन् । पाकिस्तानी मिडियाका अनुसार खानमाथि अविश्वासको प्रस्ताव दर्ता गरेसँगै उनी अल्पमतमा परेका थिए । उनकै पार्टीका कतिपय सांसदहरू समेत उनको विपक्षमा उभिएका थिए ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्