RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/६/१६ गते
७२१ पटक

नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको विश्व बैंकका एक अर्थशास्त्रीले बताएका छन्। विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले नेपालसँग ९.२ अर्ब डलर (करिब १० खर्ब) को निर्यात गर्न सक्ने क्षमता रहेको बताएका हुन्। गत आर्थिक वर्षको निर्यात (करिब २ खर्ब रूपैयाँ) सँग तुलना गर्दा भरेलाले देखाएको सम्भावना आठ गुणा बढी हो। नेपालको व्यापार घाटा निरन्तर बढिरहेको र यसैले अर्थतन्त्रका विभिन्न पाटोमा समस्या ल्याएका बेला भरेलाकोे यस्तो भनाइले सरकार र निजी क्षेत्रलाई झस्काइदिएको छ।

अर्थशास्त्री भरेलाले कुनै लहडमा यो भनाइ राखेका होइनन्। विश्व बैंकले केही समयअघि नेपालसहित ५० वटा मुलुक समावेश गरी तिनीहरूको निर्यात सम्भावनाबारे अध्ययन प्रतिवेदन तयार पारेको थियो। सोही अध्ययनले नेपालको निर्यात सम्भावना बढी रहेको देखाएको हो। अध्ययनले ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको अर्थशास्त्री भरेलाले बताए।

नेपाल उद्योग वाणिज्य महासंघले नेपालको निर्यात सम्भावनाबारे काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँगै एकै दिन विश्व व्यापार संगठनको सदस्य भएका अतिकम विकसित मुलुक क्याम्बोडिया, लाओसजस्ता देशले निर्यात बढाउन सकेको तर नेपालले सम्भावना हुँदाहुँदै पनि नसकेको बताए।

भरेलाका अनुसार एउटै खालको भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म कुल निर्यातको लगभग आधा हिस्सा कृषि उत्पादन थियो। बाँकी आधा हिस्सामा धेरै कपडा, थोरै खनिज र अन्य उत्पादनको योगदान थियो। तर सन् २०१९ (कोभिडपूर्व) मा लाओसले कृषि र कपडाको निर्यातलाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर, रसायनमा आधारित वस्तुु र विद्युतीय ऊर्जा निर्यातमा थप्न सफल भयो। जसले लाओसको अर्थतन्त्रलाई निकै माथि लैजान सफलता मिल्यो।

अर्थशास्त्री भरेलाका अनुसार यही परिप्रेक्ष्यमा नेपाललाई हेर्दा त्यसबेला नेपालको कपडा निर्यात पहिलो नम्बरमा थियो । कृषि र अन्य रसायनमा आधारित वस्तुुहरू पनि निर्यात हुन्थे । तर २० वर्ष पछिसम्म पनि नेपालको निर्यातयोग्य वस्तु विविधीकरण हुन सकेन। ‘धेरै कृषि, थोरै कपडा तर ती दुई समूहले नै नेपालको निर्यातमा वर्चस्व राखेको पाइयो,’ अर्थशास्त्री भरेलाले भने, ‘यही कारण जति निर्यातको सम्भावना थियो, त्यो हुन सकेन।’

भरेलाका अनुसार अर्कोतिर नेपालको वृद्धि उत्पादकत्वका आधारमा देखिँदैन। नेपाली उद्योगी व्यवसायीले तीव्र निर्यातमार्फत फाइदा लिन सकेको पाइँदैन। ‘न्यून परिमाणको निर्यात, त्यो पनि सीमित देशहरूमा मात्र केन्द्रित भएको र छोटो समयका कारण निर्यातले गति लिन सकेन’, उनले भने।

भरेलाले नेपालमा आएको न्यून बाह्य लगानी पनि निर्यात बढ्न नसक्नुको अर्को प्रमुख चुनौती रहेको बताए। ‘न्यून बाह्य लगानी प्रवाहले वृद्धिका अवसरहरू र उत्पादकत्व फैलाउने सम्भावनालाई समेत थप सीमित बनाइदियो’, उनले भने, ‘लाओस क्याम्बोडियाजस्ता मुलुकले धेरै विदेशी लगानी आकर्षित गर्न सके, जसले देशको उत्पादन र उत्पादकत्व दुवै बढायो। नेपालले भने लगानी र निर्यात दुवै बढाउन सकेन।’

नेपालमा प्रजातन्त्र पुनस्र्थापनापछि बनेका सबै सरकारले बाह्य लगानीलाई प्राथमिकता दिएको दाबी गर्दै आएका छन्। सरकार चलाउनेले नै लगानी भित्र्याउन अनेकौं बाधा उत्पन्न गर्दै आएका पनि छन्।

अर्थशास्त्री भरेलाले नेपालले निर्यात बढाउने सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न अर्थात् निर्यात बढाउन विभिन्न उपाय पनि सुझाएका छन्। उद्योगी–व्यवसायीलाई उनीहरूको उत्पादन तथा सेवा गुणस्तरीय, भरपर्दो र अधिक राम्रो बनाउन, उत्पादित वस्तुलाई सफलतापूर्वक अन्तर्राष्ट्रिय बजारमा लैजान र त्यसलाई प्रोत्साहन गर्न सरकारले निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्ने उनको सुुझाव छ। उनले बाह्य लगानीबिना निर्यात बढाउन नसकिने भन्दै सरकारलाई त्यसअनुसारको नीति निर्माणमा लाग्न पनि सुझाए।

उद्योग मन्त्रालयका सचिव तोयानारायण ज्ञवालीले विश्व बैंकका अर्थशास्त्री भरेलाले प्रस्तुत गरेको तथ्य–तथ्यांक र सुझाव सरकारका लागि निकै महत्वपूर्ण रहेको बताए। उनले आगामी दिनमा निर्यातको यस्तो सम्भावनालाई यथार्थमा परिणत गर्नेगरी सरकारले योजना बनाउने जानकारी दिए।

योजना आयोगका सदस्य रामकुमार फुयाँलले उत्पादनशील उद्योगमै लाग्ने नीतिअनुरूप पूर्वाधार तयार भैरहेको भन्दै सरकारको नीति पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन नै भएको बताए।

महासंघ अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरूपी एउटामात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवद्र्धनमा काम गर्नुपर्ने बताए। हामीले हाम्रो अर्थतन्त्रको आधार मजवुत बनाउन सकेनौं भने जतिबेला पनि इन्जिन फेल हुन सक्ने खतरा रहेको उनले औंल्याए।

महासंघका उपाध्यक्षद्वय अन्जन श्रेष्ठ र रामचन्द्र संघईले अर्थशास्त्री भरेलाको कार्यपत्र निजी क्षेत्रका लागि निकै ऊर्जा दिने खालको देखिएको भन्दै सुझावअनुसार निर्यात प्रवद्र्धनमा सरकार र निजी क्षेत्र लाग्नुुपर्नेमा जोड दिए।

www.nagariknews.nagariknetwork.com

प्रतिकृया दिनुहोस्