RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१२/२ गते
७८२ पटक

चालू आर्थिक वर्षको पहिलो ८ महिनामा सरकारले २० प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने प्रतिबद्धताका बाबजुद सरकारले यो अवधिमा ७७ अर्ब १४ करोड रुपैयाँ अर्थात् २०.४ प्रतिशतमात्र खर्च गर्न सकेको हो ।

सरकारले चालू आर्थिक वर्षका लागि ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । तर, खर्च नहुने देखेपछि मध्यावधि समीक्षामार्फत खर्चको लक्ष्य झण्डै १० प्रतिशतले घटाएर ३ खर्ब ४० अर्ब कायम गरिएको छ ।

चालू आवको ८ महिनामा सरकारले गरेको खर्च गत आर्थिक वर्ष २०७७-०७८ को सोही अवधिको तुलनामा दुई प्रतिशतले कम हो । गत वर्ष सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा २२.६४ प्रतिशत अर्थात् ७९ अर्ब ८८ करोड रुपैयाँ खर्च गरेको थियो ।

विकासे मन्त्रालयहरुले योजना कार्यान्वयन गर्न नसक्दा खर्च हुन नसकेको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बताए । उनका अनुसार विकास खर्च बढाउन अर्थ मन्त्रालयले निरन्तर पहल गरिरहेको छ । “पुँजीगत खर्च बढाउन विकाससँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग छलफल भइरहेको छ । खर्च बढाउन एक साताभित्र कार्ययोजना प्रस्तुत गर्न निर्देशन समेत दिएका छौं,” उनले भने ।

चालूतर्फ भने सरकारले ५० प्रतिशतभन्दा बढी खर्च गरिसकेको छ । १० खर्ब ६५ अर्ब रुपैयाँ चालू खर्च विनियोजन गरिएकोमा सरकारले ५०.५४ प्रतिशत अर्थात् ५ खर्ब ३८ अर्ब रुपैयाँ खर्च गरेको छ । गत वर्ष भने सरकारले सो अवधिमा ४८.०५ प्रतिशत अर्थात् ४ खर्ब ५५ अर्ब रुपैयाँ खर्च गरेको थियो ।

वित्तीय व्यवस्थातर्फ पनि खर्च बढेको छ । विगत ८ महिनामा सरकारले ३१.५२ प्रतिशत अर्थात् ५९ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ । गत वर्ष भने २०.५५ प्रतिशत अर्थात् ३५ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको थियो ।

अघिल्लो वर्षको तुलनामा राजस्वतर्फ भने सरकारको प्रगति राम्रो देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले ८ महिनामा ६ खर्ब ८४ अर्ब रुपैयाँ अर्थात् लक्ष्यको ५८ प्रतिशत राजस्व संकलन गरेको छ । अघिल्लो वर्ष भने सोही अवधिमा सरकारले लक्ष्यको ५६.४६ प्रतिशत अर्थात् ५ खर्ब ७१ अर्ब रुपैयाँ संकलन गरेको थियो ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्