RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/३० गते
६३७ पटक

काठमाडौं । कोरोना भाइरसका कारण ठप्प भएको पोल्टी व्यवसाय लकडाउन खुकुलो भएपछि कारोबार बढेको छ । लकडाउनले कृषि क्षेत्रको सबै भन्दा ठूलो समस्या पोल्टी व्यवसायीलाई परेको थियो । शुक्रबारदेखि सरकारले लकडाउन खुकुलो पारेपछि पोल्टी व्यवसायीलाई केही राहत भएको हो ।

लकडाउन खुुकुलो भएपछि २० प्रतिशत व्यापार बढेको नेपाल पोल्टी महासंघका अध्यक्ष गुडचन्द्र विष्टले बताए । अध्यक्ष विष्टका अनुसार सम्पूर्ण पोल्टी क्षेत्रमा करिब ३० अर्बको क्षति भएको छ । लकडाउनले दैनिक पोल्टी क्षेत्रमा करिब २२ करोड नाक्सानी भएको छ । अध्यक्ष विष्टले भने, ‘एक सातादेखि पोल्टी व्यवसायमा केही सुधार आएको छ । तर, पहिलेको अवस्थामा आउने पोल्टी व्यवसायलाई करिब दुई वर्ष लाग्छ ।

लकडाउन अहिले केही सहज भएको अध्यक्ष विष्ट बताउँछन् । उनी भन्छन्, ‘लकडाउनले पोल्टी उद्योगमा सबैभन्दा धेरै क्षति भएको छ तर राहतमा सरकारले एक प्रतिशत पनि विद्युत् महसुलमा छुट दिएको छैन ।’ विद्युत् महसुल छुटका बारेमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुरा गर्दा उनले १ सय ५० युनिटसम्मका लागि मात्र छुट भएको बताए । कृषिमन्त्री घनश्याम भुसालसँग कुरा राख्दा मन्त्रिपरिषद्मा कुरा राख्ने आश्वासन दिएका पनि विष्टले बताए ।

विष्टका अनुसार देशभर ठूलासाना पोल्टी उद्योगमा करिब ३० हजार व्यवसायी आबद्ध छन् । यस क्षेत्रबाट पत्यक्ष रूपमा ६ लाख रोजगारी पाएका छन् । यदि सरकारले यो क्षेत्रलाई विद्युत् महसुल, सहुलियत ऋणको व्यवस्था नगर्ने हो धेरै पोल्टी उद्योग बन्दा हुने अवस्थामा पुग्ने उनको भनाइ छ । सरकारले करिब १० वर्षसम्मका लागि सहुलियत ऋणको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्