RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१६ गते
७५२ पटक

सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउनेक्रम अझै जारी छ । बिहीबार बैतडीको झुलाघाट नाकाबाट समेत नेपाली भित्रिएका छन् ।

जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार जेठ २ गतेदेखि अहिलेसम्म गौरीफन्टा नाकाबाट २८ हजार ८७९ जना भित्रिएका छन् । जसमा जेठ २ मा ३८३ जना, ३ गते ४०३, जेठ ७ गते ८३४, ८ गते दुई हजार ४९८, जेठ ९ गते दुइ हजार ११, १० गते एक हजार ९५९, ११ गते तीन हजार ९६४, १२ गते दुई हजार २२७, १३ गते पाँच हजार २४२, १४ गते चार हजार ७९४ र १५ गते चार हजार ५६४ जना रहेका छन् ।

त्यसै गरी, कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबारसम्म आठ हजार नेपाली गड्डाचौकी नाकाबाट भित्रिएको बताउँदै बिहीबार दुई हजार ४०५ नेपाली उक्त नाकाबाट भित्रिएको जनाइएको छ । त्यस्तै, बैतडीको झुलाघाट नाकाबाट ५७६ जना नेपाली भित्रिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका ले जनाएको छ ।

भारतमा अलपत्र परेका हजारौँ नेपालीलाई ल्याउन नेपाल भारत सीमा नाका खुल्ला गरिएसँगै उनीहरूको आउने क्रम बढ्दै गइरहेको छ । सीमा क्षेत्र तथा भारतको विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई भित्र्याउने कार्य भइहेको छ ।

जेठ २ गतेदेखि नेपाल भित्रिनेहरूको विवरण दैनिक सीमामा खटिएका सुरक्षाकर्मीले राखी सम्बन्धित जिल्लामा पठाउने कार्य गरिएको छ । सीमा खुल्ला गरिएपछि पछिल्लो पटक सुदूरपश्चिमका नाै जिल्लालगायत अन्य जिल्लाका नागरिकलाई सम्बन्धित पालिकाले आफैँ सवारीसाधन पठाएर लगिरहेका छन् ।

भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले दैनिक गौरीफन्टा नाकाबाट आफ्नो पालिकाका बासिन्दालाई ल्याएर सम्बन्धित वडाको क्वारेन्टाइनमा राख्नेगरेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्