RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२६ गते
९८८ पटक

ललितपुर । दिनदिनै उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण यस वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन पाटनको कृष्णमन्दिर नखुल्ने भएको छ । मन्दिर दर्शनका लागि खोल्दा भक्तजनहरुको बाक्लो उपस्थिति भई संक्रमण सर्ने खतरा भएकाले मनिदर नखोल्ने भएको पाटनस्थित मंगल टोल सुधार समितिले जनाएको छ ।

समितिसँगै ललितपुर महानगरपालिकाले पनि संक्रमणको जोखीम रहेको भन्दै पाटन दरबार स्क्वायर क्षेत्रमा रहेको ढुंगैढुंगाले बनेको कलात्मक कृष्ण मन्दिर नखोल्ने बताएको हो ।

ललितपुर महानगरपालिका र मंगल टोल सुधार समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्दिर बन्द रहने जानकारी दिएका हुन् । हरेक वर्ष भव्य रुपमा मनाइने श्रीकृष्ण जन्माष्टमी यो वर्ष मंगलबार परेको छ । ‘श्रीकृष्ण जन्माष्टमीको पावन दिनमा सम्पूर्ण भक्तजनहरुलाई आफ्नै घरमा भगवान् श्रीकृष्णको पूजा अर्चना गरी परम्परालाई निरन्तरता दिन हुन अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

सिद्धिनरसिंह मल्लका पालामा बनेको सो मन्दिर ०७२ सालको भूकम्पमा परी आंशिक क्षति भएको थियो । मन्दिरमा क्षती पुग्दा ०७३ र ०७४ को कृष्णजन्माष्टमीमा मन्दिर घुम्न र बाहीरैबाट परिक्रमा गर्ने मात्र ब्यवस्था मिलाइएको थियो । २ वर्ष अघिदेखी मात्र मन्दिर भित्र दर्शन गर्ने ब्यवस्था मिलाइएको थियो । तर फेरी यसपाली कोरोना भाइरसले गर्दा मन्दिरमा मूल पूजा बाहेक सर्बसाधारणले भित्र प्रवेश गर्न पाउदैनन् ।

महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको किम्बदन्ति छ । त्यसपछि तल कृष्ण र माथि शिवको मन्दिर स्थापना गरिएको अघिल्ला पुजारी विष्णुधर राजोपाध्यायले बताए ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ । तीन तले शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिएको मन्दिरमा २१ गजुर रहेका छन् । १७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएर कृष्ण लीलामा आधारित कात्तिक नाच चलाएका थिए । ३ मध्ये मध्य तलामा कृष्णको मूर्ति रहेको छ । मूर्तिको वरिपरि भगवान बिष्णुका १० अवतार छन् । मन्दिरका वरिपरिका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति पनि कुँदिएको छ ।

पाटन र चापागाउँमा कृष्ण यात्रा नहुने
ललितपुरको पाटनमा बुधबार हुने कृष्ण यात्रा पनि कोरोना सक्रमितको संख्या बढ्दै र्गएको भन्दै स्थगित गरिएको छ । कृष्ण जन्माष्टमीका भोलीपल्ट कृषण यात्रा गरिने चलन छ । यसपाली भने यात्रा नहुने मंगल टोल सुधार समितिका अध्यक्ष किरण मान प्रधानले जानकारी दिए ।

गोदारी नगरपालिका वडा नम्बर ११ मा रहेको कृष्ण मनिदरमा सामाजिक दुरी कायम गरेर मंगलबार दर्शनको ब्यवस्था मिलाइएको श्रीकृष्ण जन्माष्टमी जात्रा मूल समारोह समितीका सचिव उमेश कायस्थले जानकारी दिए । तर कृष्ण अष्टमीको भोलीपल्ट बुधबार गर्ने भनिएको कृष्ण यात्रा भने स्थगित गरिएको उनले बताए ।

अघिल्ला वर्षहरुमा भगवान कृष्णलाई मन्दिरबाट निकालेर खटमा राखी चापागाउँबाट झ्यालीपाटी, बज्रबाराही हुँदै बुलु, प्याङगाउँसम्म घुमाई फेरी चापागाउँकै मन्दिरमा लगेर राख्ने चलन छ । राती भगवान कृष्ण जन्मेको मानेपछि यात्रा गर्ने चलन रही आएको छ । यस्तै बिहीबार हुने भनिएको भिमसेन जात्रा पनि नहुने भएको छ । भीमसेनको मन्दिरमा सामाजिक दुरी कायम गरी दर्शन गर्ने व्यवस्था भने मिलाइएको छ  ………राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्