RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१४ गते
४७२ पटक

सरकारले संघ र प्रदेशस्तरमा थप तीन लाख टन खाद्यान्न भण्डारण क्षमता बढाउन लागेको छ । बजारमा आपूर्ति व्यवस्थालाई सहज बनाउन खाद्यान्नको भण्डारण क्षमता बढाउन लागेको हो । हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग न्यून परिमाणमा खाद्यान्न भण्डारण क्षमता रहेकाले थप क्षमता बढाउन लागिएको हो । अहिले कम्पनीसँग मुलुकभर १ लाख ५९ हजार टन भण्डारण क्षमतामात्र रहेको छ ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत संघ र प्रदेशमा भण्डारण गृह निर्माण गरेर भण्डारण क्षमता बढाउने प्रकृया अघि बढाएको छ । सोही अनुसार कम्पनीले खाद्यान्नको मौज्दात बढाउनका लागि भण्डारण गृह निर्माण गर्न लागेको हो । आन्तरिक वितरण प्रणालीलाई सुदृढ गर्न र आपूर्ति व्यवस्थामा पर्ने आकस्मिक अवरोधलाई सम्बोधन गर्न सहज सहज पुग्ने कम्पनीको भनाइ छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बजारमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउका लागिसंघ र प्रदेशमा गरेर ३ लाख १० हजार टन खाद्यान्न भण्डारण गर्न लागिएको जानकारी दिए । “अहिले कम्पनीसँग न्यून परिमाणमा खाद्यान्नको भण्डारण क्षमता रहेको छ,” उनले भने, “संघ र प्रदेशस्तरमा भण्डारण गृह निर्माण गरेर आवश्यकताअनुसार खाद्यान्न भण्डारण गर्न लागेका छौं ।”
खाद्यान्नलाई भण्डारण गर्नका लागि कम्पनीले विभिन्न स्थानमा व्यावसायिक भवनसमेत निर्माण गर्न लागेको छ । संघमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत एक लाख टन खाद्यान्न भण्डारण गरिने छ ।

त्यसैगरी सातै प्रदेशमा २ लाख १० खाद्यान्न भण्डारण गरिने छ । भण्डारण क्षमता बढाएपछि बजारमा जुनसुकै बेला खाद्यान्नको आपूर्ति व्यवस्था सहज पार्न सहज हुने कम्पनीको भनाई छ ।
संघअन्तर्गत १ लाख टन र प्रत्येक प्रदेशमा कम्तीमा ३० हजार टनका दरले दुई लाख १० हजार टन खाद्यान्न मौज्दात राख्न भण्डारण गृह बनाउन लागिएको कम्पनीले जानकारी दिएको छ । भण्डारण क्षमता बढाउनका लागि भएका गोदाम मर्मत गर्ने र निजी क्षेत्रसमेतको सहभागितामा नयाँ गोदाम निर्माण गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले खाद्य बैंक र खाद्य सुरक्षा भण्डारमा समेत बर्सेनि मौज्दात राख्ने गरेको छ । अहिले खाद्य सुरक्षा भण्डारणमा ८ हजार टन खाद्यान्न मौज्दात राखिएको छ । प्राकृतिक प्रकोप, बाढी पहिरोे जस्ता भैपरी आउने विपत्तिको बेला बजारमा अभाव भएको खण्डमा कम्पनीले आफ्नो मौज्दातको चामल बिक्रीका लागि खुला गर्ने गरेको छ । कम्पनीले हालैे १० हजार टन चामल खरिद गर्न लागेको जानकारी दिएको छ । जसमध्ये दुई हजार टन चामल खरिद गरिसकेको छ ।

प्रदेश सरकार र कम्पनीको संयुक्त लगानीमा प्रदेशस्तरमा खाद्यान्न भण्डार गृह बनाइने उल्लेख छ । कम्पनीसँग मुलुकभर १ सय ६४ वटा गोदाम रहेका छन । जसमा एक लाख ५९ हजार ३ सय २० टन भण्डारण क्षमता रहेको छ । १ नम्बर प्रदेशमा ३२ हजार १ सय ८० टन भण्डारण क्षमता रहेको छ । सवै भन्दा धेरै २ प्रदेशमा ४३ हजार टन भण्डारण रहेको छ । यस्तै ३ बागमति प्रदेशमा २७ हजार ९ सय ५०,गण्डकी प्रदेशमा ४ हजार ६ सय टनको भण्डारण रहेको छ । ५ नम्बर प्रदेशमा ३१हजार हजार ९ सय १०, कर्णाली प्रदेशमा सवै भन्दा धोरै ७ हजार ५ सय र सुदूरपश्चिम प्रदेशमा १२ हजार १ सय ८० टन भण्डारण क्षमता रहेको छ ।

गत वर्ष नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेड मर्च गरेर सो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनी स्थापना गरिएको हो । कम्पनीले दुर्गम तथा सुगम जिल्लामा खाद्यान्न ढुवानीसँगै बिक्री वितरण गर्दै आएको छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्