RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/१८ गते
५२६ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवका साथै निवासमा खटिएका ६३ सुरक्षाकर्मी लगायतमा कोरोना संक्रमण देखिएको छ ।

ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

उनीहरूका साथै प्रधानमन्त्री निवासमा रहेका नेपाली सेनाका २८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरीका १८ सुरक्षाकर्मी र सचिवालयका अन्य कर्मचारीमा पनि संक्रमण देखिएको छ । उनीहरूको शुक्रबार स्वाब लिइएकोमा शनिबार नतिजा आएको हो ।

प्रधानमन्त्रीको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको स्रोतको दाबी छ । एक साताअघि प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई समेत संक्रमण देखिएको थियो । प्रधानमन्त्री कार्यालयको सचिवालयमा कार्यरत सबैले अनिवार्य रूपमा मास्क लगाएर एकआपसमा दुई मिटर दूरी कायम राख्नुका साथै हातमा सेनिटाइज गर्नुपर्ने प्रोटोकल छ ।

‘सचिवालय सदस्यलाई आपसमा अनिवार्य २ मिटर दूरी कायम गर्न लगाइएको छ । उनीहरूले चियाखाजासमेत एक्लै खानुपर्छ, समूहमा खान पाइँदैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘त्यहाँँ देखिएको संक्रमणको स्रोतको खोजी भइरहेको छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आफूहरू घरमै आइसोलेसनमा बसेको बताए । साताअघि संक्रमित भएकी निजी चिकित्सक डा. शाहले आफू निको हुँदै गएको बताइन् । उनी पनि घरमै आइसोलेसनमा छिन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्