RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२० गते
५३८ पटक

काठमाडौं । प्रहरीले राजधानीका विभिन्न स्थानबाट बरामद गरेका २५ करोड मूल्य बराबरको अखाद्य वस्तुलाई बचाउन उच्च घरानियाँ व्यापारीहरूले नै चलखेल गर्न थालेका छन् । ती व्यापारीले कानुनी शासनलाई नै चुनौती दिँदै अखाद्य वस्तुलाई खाद्य वस्तुकै हैसियत प्रदान गराउने गरी चलखेल अघि बढाएको जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले जानकारी दिएको छ ।

महानगरीय अपराध महाशाखाको पहलमा केही दिनदेखि प्रहरीले राजधानीका विभिन्न स्थानबाट अखाद्य वस्तु बरामद गर्दै आएको छ । अपराध महाशाखाको लामो अनुसन्धान र प्रयासपछि प्रहरीले पछिल्लो हप्ता मात्रै ‘डेट एक्सपायर’ भएका २५ करोड मूल्य बराबरका अखाद्य वस्तु बरामद गरी गोदाम सिलसमेत गरेको छ ।

त्यसरी बरामद भएका अखाद्य वस्तुमा ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुसलगायत छन् । तर, व्यापारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मन्त्रालयअन्तर्गत रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरूलाई प्रभावमा पारी ती अखाद्य वस्तुहरू छुटाउने दौडधुपलाई तीव्रता दिएका हुन् । काठमाडौं प्रशासन स्रोतका अनुसार अहिले पनि कतिपय अखाद्य वस्तु राजधानीबाट बाहिरी जिल्लामा पठाउने तयारी भइरहेको भन्ने सूचनासमेत प्राप्त भएको छ ।

प्रहरीको अपराध महाशाखाले त्यसरी बरामद गरेका अखाद्य वस्तु र त्यसको कारोबार गर्नेहरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मुद्दा चल्ने बताएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पनि सो ऐनअनुसार नै वाणिज्य विभागले मुद्दा चलाउनुपर्ने राय दिएकाले यससम्बन्धी सम्पूर्ण जिम्मेवारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाएको छ । सो ऐनअनुसार यस्तो कारोबार गर्नेलाई ५ वर्षसम्म कैद र बिगोको दोब्बर जरिमाना हुने व्यवस्था छ भने त्यस्ता सबै सामान नष्ट गर्नुपर्ने कानुनी प्रावधान छ ।

राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्