RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२५ गते
५५७ पटक

विश्वभर १० अक्टोबरका दिन मानसिक स्वास्थ्य दिवस मनाइन्छ । नेपालमा पनि केही औपचारिक कार्यक्रमका साथ यो दिवस मनाइन थालेको छ । तर, नेपाली समाजमा मानसिक स्वास्थ्यका बारेमा बुझाइ तथा कार्यक्रमका बीच भने कुनै तालमेल छैन । करिब एक दशकको माओवादी सशस्त्र आन्दोलनले जन्माएको अस्थिरता, बेलाबेलामा आउने भूकम्प तथा अन्य प्राकृतिक प्रकोप एवं राजनीतिक, सामाजिक, आर्थिक एवं मनोवैज्ञानिक असुरक्षाबाट नेपाली समाज मानसिक रूपमा प्रताडित थियो । त्यसमाथि पछिल्ला सात महिनादेखि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको बन्दाबन्दी अनि निषेधाज्ञााका कारण धेरैले असुरक्षित महसुस गर्नु अनौठो रहेन । बन्दाबन्दीका कारण रोजगारी गुमाउनेदेखि आफ्ना व्यवसाय बन्द गरेर अनिश्चित भविष्य कुरेर बस्नुपरेको पीडाले नेपाली समाजको मानसिक अवस्थामा गहिरो असुरक्षाको बीजारोपण गरेको छ । नेपाली समाज सांस्कृतिक तथा सामाजिक कारणले पनि धेरै घुलमिल हुने समाजमा पर्छ । तर, संक्रमण फैलन नदिन भौतिक दूरी कायम राख्नुपर्ने कारण सामाजिक तथा धार्मिक कार्यहरू सबै रोकिएका छन्, जसले गर्दा पनि नेपाली समाजमा मानसिक रूपमा दबाब बढी रहेको छ । साथै, कोरोना संक्रमणको प्रतिकार्यमा अग्रपंक्तिमा संलग्न चिकित्सक तथा स्वयंसेवकहरू, प्रहरी, सेना तथा पत्रकारहरूमा कुनै न कुनै प्रकारका मानसिक तथा मनोवैज्ञानिक समस्या देखिन थालेको छ । अध्ययनअनुसार करिब ७० प्रतिशत चिकित्सक तथा स्वयंसेवकहरूमा कुनै न कुनै प्रकारका मानसिक र मनोवैज्ञानिक समस्या देखिएको बताइएको छ, जसबाट पनि कोभिडपछि मानसिक स्वास्थ्यको समस्या बढ्दो रहेको देखिन्छ । तर, यस क्षेत्रमा लगानी भने आधा घटेकाले नीति निर्माताहरू अत्यन्तै गम्भीर हुनुपर्ने आवश्यकता छ ।
पछिल्ला दिनमा समाचारहरू हेर्दा नेपालमा हरेक दिन औसतमा १५ जनाले आत्महत्या गर्ने गरेको र गएको वर्षमा करिब ६ हजार ३ सयले आत्महत्या गरेको आँकडा छ । कोभिडपश्चात् केही संस्था तथा केही विषयविज्ञहरूले मनोसामाजिक सहयोग तथा निःशुल्क हटलाइन सेवा दिइरहेको भए तापनि सरकारले यसलाई अझै गम्भीर रूपमा नलिएको देखिएको छ । मानसिक रूपमा अस्वस्थ जनशक्तिले आफ्नो पूर्ण क्षमतामा काम गर्न त सक्दैनन् नै, उसले आफ्नो उत्पादकत्वसँगै अरूको उत्पादकत्व पनि घटाउँछ । त्यसैले यस्ता मानवीय क्षेत्रमा सरकारले आफ्ना नीतिमार्फत दिगो समाधान खोज्नुपर्छ । यस्ता मानवीय क्षेत्रमा मानसिक स्वास्थ्यका कार्यक्रम तथा गतिविधि बढाउँदै लानेमात्र होइन, प्रकृतिसँगको सामीप्यता बढाउन, भेदभाव हटाउन तथा सुरक्षाका उपायहरूलाई उच्च प्राथमिकता राख्न, कार्य वातावरण सकेसम्म राम्रो बनाउन र एकै स्थानमा सबै जना जम्मा नभई सकेसम्म घरैबाट काम गर्ने वातावरण बनाउन अत्यन्त आवश्यक छ । साथै, आममानिसले पनि मानसिक रूपमा बलियो रहन नियममित रूपमा योग, शारीरिक व्यायाम, आफ्ना नजिकका परिवार, साथीसँग मनका कुरा बाँड्नु, स्वस्थ खानपान खानु, मदिराजन्य पदार्थ नखानु आवश्यक छ । व्यायाम गर्ने, सकारात्मक विचार राख्ने तथा नकारात्मक मानिस तथा विचारबाट टाढा रहने गर्नुपर्छ । सरकारले यस्ता अवस्थासँग जुध्न भनेर नै सामाजिक सुरक्षा कोष बनाउने योजना बनाएको भए तापनि सामाजिक सुरक्षा कोषलाई पछिल्लो समय पेन्सन योजनाजस्तै बनाइएकाले पनि यस महामारीमा रोजगारी गुमाएकाहरूलाई सरकारको सामाजिम सुरक्षा कोषबाट कुनै सहयोग प्राप्त भएन । तसर्थ यस महामारीले सरकारलाई पनि कस्ता नीति ल्याउँदा दिगो तथा नागरिकलाई सहज सेवा दिन सकिन्छ भन्ने पाठ पढाएको हुनुपर्छ । साथै, सरकारले आफ्ना नागरिकको मानसिक स्वास्थ्यका लागि पर्याप्त लगानी गर्न पनि आवश्यक छ । अन्यथा अक्टोबर १० मा औपचारिक कार्यक्रम गरिरहँदा नेपाली समाज मानसिक स्वास्थ्यका दृष्टिकोणमा अझै कमजोर हुँदै जाने निश्चित छ । कुनै पनि देशको आर्थिक विकास उक्त देशका स्वस्थ जनशक्तिबिना सम्भव छैन र स्वास्थ्य भनेको शारीरकमात्रै होइन, मानसिक स्वास्थ्य पनि हो भन्ने बुझ्न्ु जरुरी छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्