RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२८ गते
७०८ पटक

काठमाडौँ,  अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् ।

स्थायी घर गोरखाका गणेश भट्टले दशैँका लागि तन्ना तथा कुर्ता बिक्रीका लागि राख्नुभएको छ तर सधैँ झैँ व्यापार छैन । उहाँले अघिल्ला वर्षमा एक सयभन्दा बढी तन्ना बेच्नुहुन्थ्यो । ग्राहक आएर बस्ने ठाउँ हुँदैनथ्यो तर अहिले १० वटा बिक्री हुन पनि गाह्रो छ । काठमाडौँमा व्यापार गरिरहनुुभएका उहाँ आफूहरू पनि दशैँ मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैँको मौका छोपी व्यापार गर्न लागेको तर कोरोनाको महामारीले व्यापार नभएपछि निराश भएको बताउनुुहुन्छ ।

बाटोमा हिँड्डुल गर्ने व्यक्ति पनि पहिलेभन्दा पातला छन् । आफ्नो अनुभव सुनाउँदै उहाँले व्यापार पहिलेको दाँजोमा २५ प्रतिशत पनि छैन, खाद्यान्न बाहेकका वस्तुुको अहिले कारोबार न्यून छ भन्नुभयो ।

अहिले सपिङ मलका व्यापारी दिनभर सटर खुला राखेर कहिले पाँच–दस हजार व्यापार गरेर घर फर्किन्छन् भने कहिले व्यापारै नगरी घर फर्कने पनि भएको व्यापारीको अनुुभव छ ।

दशैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याए पनि ग्राहक नआउँदा उनीहरू अहिले समस्यामा परेका हुन् । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नागरिक घरभित्रै भएकाले पनि दशैँको सामान किन्न खासै बजार निस्केका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण नभएको लुगा व्यापारी अनिल बर्माले बताउनुभयो ।

उहाँका अनुसार अहिले दशैँ नजिकिँदै गर्दा सपिङ मलका व्यापारीले दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै छुट सहुलियत, उपहार लगायत योजना ल्याएका छन् । दशैँमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने परम्परागत मान्यता रहिआएको छ । छुट र सहुलियतले बजारमा रौनक छाउने गरेको विशालबजार व्यापार सङ्घका अध्यक्ष दामोदर कार्कीले बताउनुभयो ।

उहाँले यो वर्ष कोरोना महामारीका कारण व्यापार हुने आश छैन । पहिलेको १० देखि १५ प्रतिशत मात्रा व्यापार हुन्छ होला । फुटपाथतिर अलि होला तर हाम्रो जस्तो पसलमा कहिले त बोहनी पनि हुँदैन भन्नुभयो । कोरोनाको डरले पहिले जस्तो भीडभाड नभए पनि मानिस खाद्यान्न खरिद गर्न भीड नै भएको असनका खाद्यान्न व्यापारी रुमन जोशीको अनुभव छ ।

उहाँले दशैँमा मीठो खानु नै प¥यो, त्यसैले खाने कुरा किन्न भने मानिसको भीड नै छ तर अरू सामान खरिद गर्ने भीड नभएको बताउनुभयो ।
सिभिल मल व्यापारी सङ्घका अध्यक्ष रत्न घिमिरेले गत वर्षको भन्दा यो वर्षको व्यापार ७० प्रतिशतभन्दा बढीले घटेको बताउनुभयो । सपिङ मलमा गएको वर्षको तुलनामा व्यवसाय ७० प्रतिशत घटेको छ, दशैँको मौका छोपेर अफर ल्याए पनि ग्राहक आउँदैनन् उहाँले भन्नुभयो । व्यापार र व्यवसायमा हाल युवा बढी संलग्न छन् ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेका अनुसार राजधानीमा मुलुककै सबैभन्दा सघन बस्ती भएको र यहाँ बचाउको उपाय नअपनाउँदा कोरोना तीव्र गतिमा विस्तार हुने बढी सम्भावना छ । उहाँका अनुसार मानिसमा सही तरिकाले मास्क प्रयोग गर्न नजान्दा पनि कोरोना बढेको हो र बजारमा किनमेल गर्दा अझ सुरक्षित हुनु जरुरी छ ।

हाल राजधानीका विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र उपचार गराउन आउनेमा समेत बढी कोरोना सङ्क्रमण देखिएको औँल्याउँदै डा. पाण्डेले बजार किनमेल गर्दा नागरिकलाई थप स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्नुभयो । “अत्यावश्यक भए मात्र घरबाहिर मास्क लगाएर निस्किने, दुई मिटरको दूरी कायम राख्ने जस्ता आधारभूत प्रक्रिया सबैका लागि बाध्यकारी बनाउनुपर्छ । बजार किनमेल गर्दा अझ बढी ध्यान दिनुुपर्छ”, डा. पाण्डेको सुुझाव छ ।

गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्