RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१९ गते
३४८ पटक

कर्णाली प्रदेशको अवस्था केही वर्षअघिसम्म यस्तो थियो, आधा नागरिक गरिब। रोजगारीका लागि भारतसहित तेस्रो मुलुक जानुपर्ने बाध्यता। विकासको गति सुस्त। नागरिक निरास। तर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माणसँगै विकासको ढोका खुल्न थालेको छ। स्थानीयमा तीव्र विकासको आशा पलाएको छ। उनीहरूको आर्थिक अवस्थामा सुधार आउन थालेको छ।
‘लोकमार्ग खुलेपछि बेस्तडामा बजार चम्किएको छ। व्यापार/व्यवसाय पनि फस्टाउँदो छ’, दैलेखका कृष्ण अधिकारी भन्छन्, ‘अन्य स–साना बजार विस्तार हुने क्रम तीव्र छ। हामी गाउँका नागरिकलाई बजारसम्म जोड्यो।’

लोकमार्गअन्तर्गत कर्णालीका रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुदूरपश्चिम प्रदेशको अछामसम्म गरी ४ सय ४० किलोमिटर पर्छ। दैलेखको राकम प्रदेशकै नमुना सहरका रूपमा स्थापित हुने क्रममा छ। कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैले छुने भएपछि राकममा दैलेख, कालिकोट र अछामबाट मानिसहरू बस्न आएका छन्। सरकारी संयन्त्र पनि पुगेका छन्। यसले स्थानीयलाई सरकारी सेवा लिन घण्टौं हिँड्नुपर्ने बाध्यता टरेको छ। यस्तै, रूकुमको चौरजहारीमा बजार फस्टाएको छ।

‘लैनचौरको गाउँसमेत बजारमा परिणत भएको छ’, चामुण्डाविन्द्रासैनी नगरपालिकाका मदन विक भन्छन्। बस्ती नै नभएको ठाउँमा पनि लोकमार्ग खुलेपछि बजार विकास भइरहेको उनको भनाइ छ। लोकमार्गका कारण स्थानीय कृषिजन्य बस्तुले बजार पाउन थालेका छन्। दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ।

लोकमार्ग आयोजना कार्यालय दैलेखअन्तर्गत लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट सुदूरपश्चिमको अछामसम्म निर्माण कार्य तीव्र गतिमा छ। यो खण्डको स्तरोन्नतिअन्तर्गत सडक ग्राभेल, कालोपत्रे, पुल निर्माणलगायत काम धमाधम भइरहेका छन्। रूकुमपूर्व र रुकुम पश्चिमअन्तर्गत १ सय २५ किलोमिटरमध्ये ४६ किमि कालोपत्रे भइसकेको इन्जिनियर मनीष सिंह बताउँछन्। जाजरकोट खण्डमा पर्ने ८३ किमि भने कालोपत्रेको काम बाँकी छ।  दैलेख खण्डको १ सय २५ किमिमध्ये १९ किमि कालोपत्रे भइसकेको छ। चालु वर्ष ३५ किमि कालोपत्रे सम्पन्न हुने इन्जिनियर सिंह बताउँछन्। उनका अनुसार बाँकी खण्ड स्तरोन्नतिको कामले गति लिएको छ।

अछाममा १सय७ किमिमध्ये १ सय २ किमि कालोपत्रे भई सञ्चालनमा आएको छ। बाँकी पाँच किमि फागुनभित्र कालोपत्रे भइसक्ने आयोजनाको दाबी छ। यो खण्डमा नौवटा पुल निर्माणाधीन छन्। पुल निर्माण, ग्राभेल, सडक कालोपत्रेलगायत कार्यका लागि २९ वटा ठेक्कामार्फत काम भइरहेको छ। ती ठेक्काअन्तर्गत ४१ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर सिंहको भनाइ छ। रुकुम पूर्वबाट अछामसम्मको खण्डमा ४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ।

रोकिँदै बसाइँ
ताप्लेजुङको सिदिङ्वा–१ कालिखोलाका विजय लिम्बूले आठ वर्षअघि झापाको बिर्तामोडमा १० धुर जग्गा किनेर घर बनाए। छोराछोरी पढाउन र बिरामी भए समयमा उपचार पाउने आसमा कालिखोलाको जग्गा बाँझै छाडेर उनी झापा झरेका थिए। तर, एक वर्षअघि गाउँ फर्किएर उद्यम गर्ने वातावरण लोकमार्गले जुटाएको उनी बताउँछन्।

‘पहिले सदरमुकाम फुङलिङ जान पनि दुई–तीन दिन हिँड्नुपथ्र्यो। उपचार नपाएर गाउँमै ज्यान जान्थ्यो। कृषि उपजले पनि बजार पाउँदैनथ्यो’, उनी भन्छन्, ‘लोकमार्गनजिकैको च्याङथापुसम्म पुग्दा सबै कुरा सहज भएको छ।’

पाँचथरको च्याङ्थापु र कालिखोला सिमाना जोडिएको गाउँ हो। च्याङथापुसम्म लोकमार्ग पुग्दा ताप्लेजुङको पूर्वी क्षेत्र कालिखोलासहित पाँचथरका चिवाभञ्ज्याङ, च्याङथापु, ओयाम र थर्पु क्षेत्रको मुहार नै परिवर्तन भएको छ। विगतमा गावैं रित्याएर बसाइँ जाने प्रवृत्ति रहेकामा अहिले स्थानीयवासी लोकमार्ग आसपास र नयाँ बस्तीमा घर बनाएर उद्यम गर्न जुटेका छन्।
‘मध्यपहाडी लोकमार्ग हाम्रो क्षेत्रका लागि समृद्धिको सेतु नै बनेको छ’, थर्पुका सबिन माबो भन्छन्, ‘सडक बनेसँगै ग्रामीण क्षेत्रमा पनि आर्थिक गतिविधि बढेको छ। बसाइँ जाने क्रम रोकिएको छ।’

लोकमार्गलाई आधार बनाएर गाउँ–गाउँमा शाखा सडक विस्तार भएका छन्। स्थानीय कृषिउपजले बजार पाएको छ। ‘विकासको पहिलो आधार भनेकै सडक रहेछ’, याङवरक–१ च्याङ्थापुका वडाध्यक्ष मोहन ढुंगेल भन्छन्, ‘सडक विस्तार भएपछि गाउँको हरेक उत्पादनले बजार पाएको छ। किसानको आम्दानी बढेको छ।’

याङ्वरकको चिवाभञ्ज्याङ लोकमार्गको उद्गमस्थल हो। चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म जोडिने लोकमार्गको काम प्रदेश १ मा धमाधम भइरहेको छ। पाँचथरलगायत जिल्लामा लोकमार्गको काम अन्तिम चरणमा पुगेको छ। लोकमार्गले प्रदेश १ का पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा र उदयपुर जिल्लालाई छोएको छ। सबै जिल्लामा काम तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ।

चिवाभञ्ज्याङबाट थर्पुको दारिम्बासम्म ५१ किमि कालोपत्रे हुने भएको छ। ‘कालोपत्रेका लागि कात्तिक १८ गते टेन्डर खुलाइएको छ’, लोकमार्ग आयोजना पाँचथर फिदिमका योजना प्रमुख सुरेश न्यौपाने भन्छन्, ‘निर्माण कम्पनी छनोट प्रक्रिया तीन महिनामा पूरा हुन्छ।’ त्यसपछि कालोपत्रेको काम धमाधम अघि बढ्नेछ। करिब ३ अर्ब लगानीमा उक्त सडक कालोपत्रे गर्न लागिएको हो।

चिवाभञ्ज्याङबाट तेह्रथुमको आठराई जोड्ने तमोर नदीसम्म १ सय ११ किमि पाँचथरमा पर्छ। जसमध्ये तमोरबाट जोरसालसम्म ११ किमि र गणेशचोकबाट दारिम्बासम्म नौ किमि कालोपत्रे भइसकेको छ। जोरसालबाट गणेशचोकसम्म ४० किमि सडक मेची राजमार्गमा गाभिएको छ। उक्त खण्ड कालोपत्रे भइसकेको छ। बाँकी ५१ किमि कालोपत्रे गर्ने प्रक्रिया पनि सुरु भएको छ। ‘पाँचथरमा मध्यपहाडीको काम अन्तिम चरणमा पुगेको छ’, न्यौपानेले भने।

जोरसालबाट तमोरसम्म ११ किमि र गणेशचोकबाट दारिम्बासम्म नौ किमि सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने तयारी छ। ‘कोरोनाका कारण आयोजनाको काममा केही समय असर पुगेको हो’, उनी भन्छन्, ‘अब कोरानासँगै काम गर्नुपर्ने भएको छ।’
तेह्रथुम खण्डमा पनि धमाधम काम भइरहेको छ। तेह्रथुमको तमोर नदीबाट संक्रान्ति बजारसम्म २५ किमि कालोपत्रे सकिएको छ। न्यौपानेका अनुसार म्याङलुङ वसन्तपुर खण्डमा पनि काम धमाधम भइरहेको छ। ‘म्याङलुङबाट वसन्तपुरसम्म २० किमिमा नयाँ प्रविधिबाट काम गर्नुपर्ने भएको छ’, न्यौपाने भन्छन्, ‘यो ठाउँमा स्पाल्ट कंक्रिट गर्नुपर्ने भएको हो।’

नयाँ सहर सँगै
सरकारले लोकमार्गले छुने स्थानमा निर्माण गर्ने जनाएको १० नयाँ सहरको कामसँगै अघि बढेको छ। १० सहरका साथमा लोकमार्गमा पर्ने २४ जिल्लाका २ सय २५ ग्रामीण बस्ती बजारमा परिणत हुन थालेको न्यौपाने बताउँछन्। ती बस्तीलाई सडक सञ्जालले जोड्दा ७० लाखभन्दा धेरै स्थानीय लाभान्वित हुनेछन्। अन्नपुर्ण पोष्ट 

प्रतिकृया दिनुहोस्