RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२४ गते
४७२ पटक

पछिल्लो समय मुलुकमा आयुर्वेदिक औषधिको प्रयोग बढ्न थालेको छ । विश्वभर फैलिरहेको कोरना भाइरसको औषधि नभएपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधिको प्रयोग बढेको हो । कतिपय आयुर्वेद चिकित्सक तथा औषधालयहरूले समेत कोरोना निको पार्ने भन्दै विभिन्नखाले औषधि बिक्री वितरण गर्ने गरेको पाइन्छ ।
आयुर्वेदिक औषधिले कोभिड संक्रमित र अन्य प्रयोगकर्तालाई कस्तो फाइदा पुगिरहेको छ भन्ने ठोस अध्ययन अनुसन्धान नभए पनि यसको बिक्री भने बढेको छ । मूलतः रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सर्वसाधारणले आयुर्वेदिक औषधिको प्रयोग गर्ने गरेका छन् । जसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी छ, त्यसलाई कोरना भाइरस संक्रमण भइहाले पनि ठूलो असर गर्दैन भन्ने मान्यताका कारण आयुर्वेदिक औषधिको प्रयोग बढेको हो । आयुर्वेदिक औषधिको साइड इफेक्ट नहुने भएकाले पनि सर्वसाधारणले निश्चिन्त भएर उपयोग गर्ने गर्दछन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसार चैतयता आयुर्वेदिक औषधिको खपत ९९ प्रतिशतले बढेको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादव कोभिडपछि आयुर्वेदिक औषधि ९९ प्रतिशत नागरिकले प्रयोग गरको दाबी गर्छन् । “पहिलेको भन्दा कोभिडपछि आयुर्वेदिक औषधि प्रयोग गर्नेको संख्या ह्वात्तै बढेको छ,” उनी भन्छन्, “यसमा पनि नेपाली जडिबुटीको प्रयोग बढ्न थालको छ । खासगरी तुलसी, गुर्जो, असुरो, दालचिनीको प्रयोग बढेको छ ।” उनका अनुसार विगतमा जनचेतनाको कमीले गर्दा उत्पादनमा ध्यान दिन नसकिए पनि पछिल्ला दिनमा यसको खेती गर्ने लहर नै चलेको छ । औषधीय गुण भएका यस्ता वस्तुको महत्व थाहा पाएपछि उत्पादन बढाउनुपर्ने निष्कर्षमा स्थानीय सरकारसमेत पुग्नु सकारात्मक भएको उनको भनाइ छ ।

केन्द्रले आयुर्वेदिक औषधि प्रयोग बढ्नुलाई सकारात्मक रूपमा लिए पनि एलोपेथिक चिकित्सकले भने जथाभावी रूपमा आयुर्वेद तथा जडिबुटीको प्रयोग नगर्न सुझाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनले प्रमाणित नभएका औषधि खाँदा मानव स्वास्थ्यमा झन् समस्या थपिएको बताए । “म आयुर्वेद औषधि प्रयोग गर्नै हुन्न भन्ने पक्षमा छैन, किनकी आयुर्वेद पनि विज्ञान नै हो र कतिपय हाम्रा जडिबुटीहरूमा औषधिजन्य गुण पनि छन्,” डा. पुन भन्छन्, “तर, पछिल्लो समयमा कुनै पनि डाक्टरको सुझावबिना जथाभावी रूपमा जडिबुटी तथा आयुर्वेदको औषधि प्रयोग गरेको पाइएको छ, औषधि भन्दैमा धेरै खान पनि हुँदैन, कहिले कुन मात्रामा कुन आयुर्वेदिक औषधि प्रयोग गर्ने भनेर विषेशज्ञहरूसँग पनि सुझाव लिन जरुरी छ ।” कोभिडबाट बचिन्छ भन्ने भ्रममा जथाभावी रूपमा औषधि सेवन गर्दा अन्य समस्या आउनसक्ने उनको भनाइ छ । कारोबार दैनिकबाट ……………

प्रतिकृया दिनुहोस्