RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२५ गते
५५४ पटक

बैतडी । पाँच दिनदेखि हराएर हत्या गरिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा को हो भन्ने बारेमा प्रहरी अझै अनभिज्ञ छ । उनको बलात्कारपछि हत्या भएको बताइए पनि घटनामा संलग्नको खोजतलास समयमै हुन नसक्दा अपराधी उम्कन सक्ने चिन्ता छाएको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको बताए पनि घटना घटाउने अपराधी र दोषीको नजिक पुग्न सकेको देखिँदैन । बैतडीमा हत्या गरिएको किशोरीको हत्यारा पत्ता नलाग्दासम्म स्थानीय र विद्यार्थीले आन्दोलन जारी राख्ने बताएका छन् ।

गत बुधबार भट्ट स्कुलबाट घर फर्किनन् । उनको घरपरिवार र आफन्तले उनी हराएकै केहीबेरपछि खोजी गर्दा कतै भेटेनन् । हराएको भोलिपल्ट (गत बिहीबार) साँझ ५ बजेतिर घरभन्दा ३ किलोमिटर परको लवलेक जंगलमा उनको शव वीभत्स तरिकाले हत्या गरेको अवस्थामा फेला परेको थियो । प्रहरीले हाल घटनाको अनुसन्धान भरहेको बताए पनि विस्तृत विवरण पत्ता लगाउन सकेको छैन ।

बलात्कारपछि हत्या गरिएकी भगिरथी भट्ट
मृतक भट्टको शवको पोस्टमार्टम शनिबार गरिएको छ । बिहीबार साँझ मृत फेला परेकी भट्टको शनिबार मात्रै पोस्टमार्टम गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । भट्टको शव शुक्रबार बेलुका जिल्ला अस्पताल पु-याइएको थियो । पोस्टमार्टमको रिपोर्ट आउन भने बाँकी रहेको छ । पोस्टमार्टम रिपोर्टपछि भागरथी हत्या प्रकरणको विषयमा थप जानकारी प्राप्त हुने बताइएको छ । उनको शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुन सक्ने मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए ।

भट्टको हत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताएको छ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको टोलीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको हो । कति जनालाई नियन्त्रणमा लिइएको छ भन्ने विषयमा प्रहरीले जानकारी दिएको छैन ।

घटनाको अनुसन्धान भइरहेकाले शंकाको घेरामा रहेकालाई सोधपुछ गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

भागरथीको हत्या नै भएको प्रहरीले प्रारिम्भक अनुसन्धानबाट अनुमान गरे पनि हत्याको कारण भने खुल्न नसकेको जनाएको छ । ‘हामीले किशोरीको बलात्कारपछि हत्या भएको हो वा अन्य कुनै कारणले हो भन्ने विषय निष्कर्षमा पुगिसकेका छैनौं । पोस्टमार्टम रिपोर्टपछि त्यो कुरा थाहा हुन्छ । ‘डेथ अफ कज’ का विषयमा हामीले अनुसन्धान गरिरहेका छौं,’ प्रहरी नायब उपरीक्षक अधिकारीले भने, ‘हामी यो घटनाका अभियुक्तलाई पत्ता लगाएर छोड्छौं ।’

सिंगो गाउँ शोक र त्रासमा

किशोरी भट्टको हत्यासँगै बैतडीको दोगडाकेदार गाउँपालिका–७ को चडेपानी गाउँ शोकमा डुबेको छ । किशोरीको हत्या भएपछि अहिले गाउँ शोकमग्न भएको छ । सनातन धर्म मावि श्रीकोटमा कक्षा १२ मा अध्ययनरत भट्टको घर नजिकैको लवलेक सामुदायिक वनमा हत्या गरिएको अवस्थामा शव फेला परेपछि गाउँ नै शोकमग्न भएको स्थानीय शंकरदत्त भट्टले जानकारी दिए । उनले भने, ‘यस्तो घटना अहिलेसम्म भएको थिएन । गाउँ पूरै त्रसित बनेको छ ।’

गाउँकी छोरीको हत्या भएपछि गाउँले अहिले शोकमग्न भएका मृतकका काका शिवराज भट्टले बताए । छोरीहरूलाई विद्यालय पठाउनसमेत मुस्किल भएको उनको भनाइ छ । उनले भने, ‘सनातन धर्म मावि श्रीकोटमा हिँडेर ४५ मिनेट जतिमा पुगिन्छ । बीचमा जंगल पर्छ । यो घटनापछि छोरीहरूलाई स्कुल कसरी पठाउने भन्ने चिन्ताले सताएको छ ।’
मृतक किशोरीको घरमा आमा र छोरी मात्रै रहेका थिए । मृतक किशोरीका बुबाको दुई महिनाअघि मात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् ।

हत्यारा पत्ता लगाउन माग गर्दै आन्दोलन

भागरथी भट्टको हत्याको विरोधमा शनिबार पनि स्थानीय र विद्यार्थीले प्रदर्शन गरेका छन् । भागरथीका हत्यारालाई पत्ता लगाई कडा कानुनी कारबाहीको माग गर्दै उनीहरूले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले दिनभरि खोचेलेक, सिल्लेगडाकलगायतका ठाउँमा सडकमा चक्काजाम गरेका थिए । भट्टको बलात्कारपछि हत्या भएकाले हत्यारा पत्ता लगाई दोषीमाथि कारबाही गर्न दबाब दिने उद्देश्यले आफूहरूले आन्दोलन सुरु गरेको स्थानीय युवा भुवन कार्कीले जानकारी दिए ।

दिनदहाडै किशोरीमाथि बलात्कार गरी हत्या गरिएकाले आफूले आन्दोलन थालेको उनले बताए । दोषी पत्ता नलगाउँदासम्म आन्दोलन जारी रहने पब्लिक पावर अभियानका अभियन्ता भोजराज जोशीले बताए । ‘दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने हाम्रो माग छ,’ उनले भने । प्रदर्शनकारीले प्लेकार्डमा भागरथीको फोटो राख्दै न्यायको माग गरेका छन् ।

दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनकारीलाई आफूहरूको नैतिक समर्थन रहेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । दोषीलाई कारबाहीको माग गर्दै प्रचण्ड–माधव समूहको नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति प्रकाशित गर्नुका साथै कांगे्रस सभापति शेरबहादुर देउवाले ट्वीटमार्फत कारबाहीको माग गरेका छन् । यसैगरी जिल्लास्थित राजनीतिक दल र तिनका भ्रातृ संगठन, अधिकारकर्मीले पनि भागरथीलाई न्यायको माग गर्दै विज्ञप्ति जारी गरेका छन् । घटनालाई मोड्न खोजे सशक्त आन्दोलन गर्ने सबैको चेतावनी छ ।

राजधानी दैनिकबाट………

प्रतिकृया दिनुहोस्