RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१४ गते
३१४ पटक

राजधानीमा धुवाँ र धुलोका कारण वायु प्रदूषण ह्वात्तै बढेको छ। वायु प्रदूषणका कारण शुक्रबार दिनभरि नै काठमाडौं उपत्यका धुम्म भयो। विभिन्न स्थानमा जडान गरिएका वायु प्रदूषणमापक स्टेसनले काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकर हिसाबले बढेको देखाए। अत्यधिक वायु प्रदूषण जनस्वास्थ्यका लागि घातक हुन्छ।

वातावरण विभागको वेबसाइटमा साँझ पौने ६ बजे भैंसेपाटीको वायु गुणस्तर सूचकांक (अक्वा) चार सय सतचालीस रेकर्ड भएको उल्लेख छ। यो जनस्वास्थ्यका लागि अत्यधिक घातक स्तर हो। अमेरिकी राजदूतावासमा राखिएको वायु प्रदूषणमापक स्टेसनमा सोही समयमा यो अंक २९४ रेकर्ड भएको छ। यो पनि जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर स्तर हो। रत्नपार्कमा अक्वा २०० को हाराहारीमा थियो। यो पनि जनस्वास्थ्यका हिसाबले अस्वस्थकर स्तर हो।

अन्तर्राष्ट्रिय रूपमा वायु प्रदूषणको मात्रा नाप्ने इन्डेक्स अक्वा १५० देखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थ्यमा प्रभाव पार्ने हिसाबले अस्वस्थकर मानिएको छ। यसलाई रातो रङ दिइएको छ। शून्य देखि ५०० सम्मको प्रदूषणको स्तरलाई ६ तहमा बाँड्दा रातो रङ खतराको हिसाबले चौथोमा पर्छ। त्यस्तै २०० देखि ३०० अंकसम्मलाई बैजनी रङ दिइन्छ। यो खतराको हिसाबले पाँचौं तह हो। यसलाई अत्यन्त अस्वस्थकर मानिन्छ। ३०० अंक नाघेपछि खैरो रङ दिइन्छ।

यो तहलाई ‘घातक’ स्तर मानिन्छ। अक्वा मापन गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड जस्ता प्रदूषणका कारक तत्वहरू हेरिन्छ। प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २.५ का रूपमा मापन गरिन्छ। प्रतिघनमिटर वायुमा १० माइक्रोमिटर व्यास भएका कणलाई पिएम १० को रूपमा नापिन्छ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले शनिबार र आइतबार बिदा भएका कारण प्रदूषणको अवस्थामा कमी आउन सक्ने बताए। उनले सोमबारसम्म पनि प्रदूषणको स्तर नघटे सर्वसाधरणलाई सावधान ९अलर्ट० रहन सूचना जारी गरिने बताए। गत वर्ष जारी काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनामा अक्वा ३ सय अंक नाघेमा त्यसलाई प्रदूषणका हिसाबले विपत्को स्थिति मानिएको छ।

‘अहिलेको स्थितिमा सकेसम्म घरबाहिर ननिस्कन, निस्कनुपरे एन–९५ मास्क लगाउन र गाडी कम चलाउन आवश्यक छ,’ उनले भने। गाडीहरूबाट निस्कने धुवाँ, इँटा उद्योग तथा विभिन्न कलकारखानाले उत्सर्जन गर्ने धुवाँ, फोहोर बाल्दा निस्कने धुवाँ तथा सडक निर्माणका क्रममा निस्कने धुलोका कारण राजधानीमा वायु प्रदूषण अत्यधिक हुन्छ। राजधानीमा प्रदूषण अकस्मात बढ्नुमा जंगलमा लागेको डढेलो प्रमुख कारण भएको बताइएको छ।

मुलुकका मकवानपुर, चितवन, पर्सा, नुवाकोटलगायत ५४ जिल्लाका बनमा डढेलो लागेको छ। डढेलोबाट निस्केको धुवाँ र धुलोले काठमाडौंको आकाश ढाकिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले बताए। उनले डढेलो नियन्त्रण नभएसम्म यो अवस्था कायम रहने र अबको दुईतीन दिनसम्म पानी पर्ने सम्भावन कम रहेको बताए। उनले काठमाडौंको आकाशमा देखिएको तुवाँलो धुलो र धुवाँका कारण सिर्जना भएको बताए।

कचौरा आकारको भूगोल र वरिपरिका अग्ला डाँडा भएका कारण काठमाडौं उपत्यकामा सिर्जना हुने प्रदूषण वायुमण्डलमा सजिलै छरिन पाउँदैन। विज्ञले राजधानीको वायु प्रदूषण नियन्त्रणका लागि बनाइएका कानुन र मापदण्ड कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिँदै आएका छन्।

वायुको गुणस्तर तथ्यांक संकलन तथा प्रशोधन गर्ने स्विट्जरल्यान्डमा रहेको संस्था एयर भिजुयलका अनुसार शुक्रबार साँझ वायुको स्तर र प्रदूषित सहरको सूचीमा विश्वका झन्डै १ सय सहरमा काडमाडौं पहिलो नम्बरमा छ। एयर भिजुअलले वायु प्रदूषण मापन सूचकांक (अक्वा) २७५ अंकमा रहेकाले वायुको गुणस्तर र प्रदूषित सहरहरूको अन्तर्राष्ट्रिय सूचीमा पहिलो नम्बरमा काठमाडौंलाई राखेको छ।

वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार एक सयजनाको मृत्यु भएको ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ। सन् २०१६ को विश्व स्वास्थ संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण राजधानीमा मात्रै झन्डै १० हजार मानिसको मृत्यु हुने देखाएको छ। वायु प्रदूषणका कारण मुटुरोग, फोक्सोको समस्या, निमोनिया, मस्तिष्काघातजस्ता समस्या उत्पन्न हुने अध्ययनले देखाएका छन्।

नागरिक दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्