RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१८ गते
१०८६ पटक

काठमाडौं । सरकारले नेपाल प्रशासन सेवालगायत विभिन्न सेवा समूहका चार जना वरिष्ठ सहसचिवलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ । विहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चार जनालाई सचिवमा बढुवा गरेको हो । बाँकी चार जना वरिष्ठ सहसचिव  छिटै सचिव बन्ने लाइनमा रहेका छन् ।

मन्त्रिपरिषद् बैठकले दुई जना प्रशासनतर्फ र दुई जना प्राविधिकतर्फ गरी चार जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

जसअनुसार बढुवा हुनेहरूमा नेपाल प्रशासन सेवातर्फ डा. दामोदर रेग्मीलाई ज्येष्ठताका आधारमा बढुवा गरिएको छ । यसैगरी, प्रशासनसेवातर्फ सिफारिस भएका तीन जना वरिष्ठ सहसचिवमध्ये गणेशप्रसाद पाण्डेलाई सचिवमा बढुवा गरिएको छ । पाण्डेसँगै बढुवा समितिले सहसचिव मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करको नाम सिफारिस गरेको थियो ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले कृषि तथा वनसेवातर्फ रिक्त रहेको एक सचिव पदका लागि वरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्यलाई बढुवा गरेको छ । बढुवा समितिले आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम पनि सिफारिस गरिएको थियो । आचार्य सिफारिस क्रममा एक नम्बरमा रहेका थिए ।

यस्तै, मन्त्रिपरिषद् बैठकले इन्जिनियरिङ सेवातर्फ सहसचिव प्रमिला बज्राचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिले बज्राचार्यसँगै सहसचिव सुशीलचन्द तिवारी र गोविन्द सिग्देलको नाम पनि सिफारिस गरेको थियो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पदका लागि मंगलबार र बुधवार नाम सिफारिस गरेको थियो ।

अझै प्रशासन सेवातर्फ तीन पद रिक्त रहेको छ । सो पदका लागि पनि बढुवा समितिले छिटै सहसचिवको सिफारिस गर्ने तयारी गरेको छ ।अब सिफारिस भई सचिव बढुवाको लाइनमा रहेका वरिष्ठ सहसचिवमा मधुसूदन बुर्लाकोटी, खगेन्द्र नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरेलगायत रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

राजधानी दैनिकबाट…………….

प्रतिकृया दिनुहोस्