RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२७ गते
३९८ पटक

कोरोना संक्रमण तीव्र रूपले बढ्न थालेपछि शिक्षा मन्त्रालयले विद्यालय तहका शैक्षिक कार्यक्रम बन्द गरी देशभरका करिब ३५ हजार विद्यालयमा बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै १५ माघसम्म बिदा दिने निर्णय गरेको हो । विश्वविद्यालयको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने बताएको छ ।

आइतबार बसेको कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)को सिफारिसअनुसार मन्त्रालयले विद्यालयमा बिदा दिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले प्रेस विज्ञप्ति जारी गर्दै २७ पुसदेखि १५ माघसम्म बिदा दिने निर्णय गरेको जनाएका छन् । यही अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउने कार्यक्रम रहेकाले त्यसमा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ ।

बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले विश्वविद्यालयका वार्षिक तथा सेमेस्टर प्रणालीका पूर्वनिर्धारित परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गर्न आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयका सचिव यादव कोइरालाले विश्वविद्यालय स्वायत्त भएकाले उनीहरूको विषयमा मन्त्रालय नबोलेको बताए । ‘विश्वविद्यालय स्वायत्त संस्था भएकाले हामीले निर्णय नगरेको हो, २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने भनेपछि विश्वविद्यालय पनि स्वतः बन्द हुन्छ, एउटा कलेजमा २५ जनाभन्दा पक्कै पनि धेरै हुन्छन्,’ उनले भने । त्रिविका आंगिक क्याम्पसहरूमा भने जाडो बिदा सुरु भएको छ । अधिकांश सामुदायिक तथा निजी क्याम्पसले कक्षा सञ्चालन गरिरहेका थिए ।

दोब्बरले बढ्दै बालबालिकामा संक्रमण
– दोस्रो लहरपछि दैनिक २५ बालबालिकामा सीमित कोरोना संक्रमण मंगलबारदेखि उकालोतर्फ, सोमबार १८ वर्षमुनिका ११६ बालबालिकामा देखियो संक्रमण

– सरकारले दैनिक पाँच लाख नागरिकलाई खोप लगाउने घोषणा गरेको थियो । तर, सरकारले लिएको लक्ष्यअनुसार खोप अभियान अघि बढ्न सकेको छैन । हरेक दिन खोप लगाउनेको संख्या दुई लाखको हाराहारीमा मात्र देखिएको छ । सोमबार पनि दुई लाख १० हजार पाँच सय ९४ जनाले खोप लगाएका छन् ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्