RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१५ गते
१६१५ पटक

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्र्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर सक्रियता बढाउन थालेका हो । अख्तियार गाउँगाउँमा पुगेसँगै घुस खाने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि धमाधम समातिन थालेका छन् ।

सोही क्रममा ११ माघमा जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित दुई जनालाई ८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीहरूविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको छ । उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काममा सहजीकरण गर्ने भन्दै ८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, ११ माघमै सिन्धुलीको घ्याङलेख गाउँपालिका कार्यालयका इन्जिनियर दिलिपकुमार साहलाई १ लाख ६० हजार घुस लिएको अभियोगमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो । उनले ट्रान्सफर जडानको विद्युतीकरण कार्य सम्पन्न भएपछि सेवाग्राहीसँग घुस मागेका थिए । उनलाई अख्तियारले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी, २७ पुसमा आयोगले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरविरुद्ध २ लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो  । नियमानुसार उपलब्ध गराउनुपर्ने सिफारिसका लागि सेवाग्राहीसँग घुस मागेको आरोप उनीमाथि लागेको छ । सिफारिस उपलब्ध गराइदिएबापत सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अवस्थामा ३ पुसमा अख्तियारले उनलाई वडाक्षेत्रबाट पक्राउ गरेको थियो । उनीविरुद्ध २ लाख नै बिगो कायम गरी आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।राजधानी दैनिकबाट …

प्रतिकृया दिनुहोस्