RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/३० गते
६२९ पटक

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ३८ लाख ३९ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार ३८ लाख ३९ हजार ३ सय ९९ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित अमेरिका, ब्राजिल, इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख २३ हजार ६९२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ७५ लाख ८९ हजार १०१ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा २२ हजार ५६३ जना संक्रमित थपिसँगै संक्रमित हुनेको संख्या २० लाख ८८ हजार ९६४ पुगेको छ । मृत्यु हुनेको संख्या १ लाख १६ हजार २४ पुग्दा कुल संक्रमितमध्ये ८ लाख १३ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् ।

मिछेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ९८ हजार २८३ पुगेको छ । एकैदिन ३९४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ८ हजार ५०१ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ४६ हजार ९७२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्