RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/३ गते
९६४ पटक

काठमाडौं। बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो । मृत्यु भएकी ती महिलाको मंगलबार साझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए।

बैजनाथ ६ का वडाध्यक्ष भद्रबहादुर बस्‍नेतले उनी फोक्सो, मिर्गौला र प्यारालाइसिसको समस्याबाट ग्रसित रहेको बताए । ३० जेठमा उनको स्वास्थ्यमा गम्भीर समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। वडाध्यक्ष बस्‍नेतले मृतकको शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए। ‘नेपाली सेनाले सुरक्षित रूपमा शव व्यवस्थापन गर्नेछ’, उनले भने, ‘यसबारे मृतकको परिवारलाई जानकारी गराइसकिएको छ।’

बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि १९ जनाको कोरोना संक्रमणका कारणले मृत्यु भएको पुष्टि गरिसकेको छ।

नेपालगञ्‍ज मेडिकल कलेजमा मृत्यु भएकी महिलाको विषयमा भने मन्त्रालयले अहिलेसम्म आधिकारिक पुष्टि गरिसकेको छैन।

प्रतिकृया दिनुहोस्