RaraNews

प्रतिमा खत्री प्रकाशित : २०७७/३/९ गते
१५८९ पटक
प्रतिमा खत्री/नर्सिङ अफिसर महाराजगंज नर्सिङ क्याम्पस

हुन त, चुनौती भित्र अवसरहरु हुन्छन् । त्यसलाई कसरी पहिल्याएर जीवनमा लागु गर्ने भन्ने कुराले फरक पार्ने हो । तर त्यो चुनौतीहरुबाट गुज्रिरहँदा उक्त ब्यक्तिको मनोदशा कस्तोछ, त्यसले भबिष्यको उसको कदमहरुलाई पनि निर्धारण गर्दो रहेछ । लकडाउन सुरु भएदेखिका समाचारहरु केलाउँदा, लाग्छ धेरै जसो समस्याहरुको अन्तिम विकल्पको रुपमा मान्छेहरुले आत्महत्यालाई रोजिरहेका छन् । चाहे त्यो समाचार बयालपाटा अस्पतालको कर्मचारीको होस् वा कुनै सेलिब्रटिको । अथवा एउटा पुरुष, महिलाको जो सुकैको किन नहोस् ।

नर्सिङ्ग संघले सञ्चालन गरेको वोइबिनारमा बसेर देशका सातै प्रदेशमा काम गरिरहेका नर्स दीदीबहिनिहरुको कुरा सुनिरहँदा मनमा उब्जेका भावना तथा प्रश्नहरुलाई यहाँ शब्दको रुप दिने सानो प्रयास गरेकोमात्र हो । अहिले विश्वब्यापी कोरोना माहामारिले सम्पुर्ण आक्रान्त भएर आर्थिक मन्दीको अर्को प्रकोप भइरहँदा नेपाल पनि यसबाट अछुतो हुन सकेन । विकसित मुलुकलाई नै आछुआछु भइरहेको बेलामा हाम्रो जस्तो गरिब अथवा सिमित स्रोत साधन भएको देशलाई यो महामारीसँग पैठेजोरी खेल्नु अत्यन्तै मुस्किलको कुरा हो । तैपनी विभिन्न तवरले यो सँग लड्न सबै क्षेत्रबाट सक्ने पहल भइनै रहेको छ । प्रयाप्त छैन वा सबैको चित्तबुझ्दो भएन त्यो अर्को पाटोमा छँदैछ । यो बिचमा दिनरात खटेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको खस्कदो मनोदशाले कतै यो महामारीले अर्कै डरलाग्दो रुप लिएर अघी बढ्ने त् होइन ? भन्ने त्रास उब्जेको छ ।

१२ घण्टा डिउटी सकेर घर जाँदा छरछिमेकीदेखी आफ्न्तहरुसम्मले शंका गर्छन् । थाकेर आएको व्यक्तिलाई हौसला अनि सान्त्वनाको आवश्यकता पर्छ । तर शंकाको नजरले हेरिदिए घरमा गएर थकान घट्ने होइन झन् बढ्ने रहेछ । अझँ घरबाट टाढा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई झन् कोठा खाली गरिदिनुभन्दा त मानवता नै जिउँदै मरेजस्तो अनुभव धेरै स्वास्थ्यकर्मी दिदीबहिनी तथा दाजुभाईहरुले गरेका छन् । यस्तो माहामारीमा उनीहरु आफ्नो झोलाझाम्टा बोकेर कहाँ जाने ? जागिर छोडिहालम भनेनी यस्तो संकटको घडीमा पेशागत मर्यादा तथा नैतिकताले दिँदैन । मानवता हराएको समाजमा के नैतिकताको कुरा गर्नु, छोडिदिन्छु भो भन्नलाई पनि रोजिरोटिको समस्याले सताउनेछ । गरुन त के गरुन, जाउन त कहाँ जाउन भनेझै भएकोछ । अनी सोचौं त यस्तो तनावमा भएको ब्यक्तिले कसरी माहामारीसंग लड्नलाई आफ्नो सम्पूर्ण क्षमता लगाउन सक्छ होला ? यस्तो हुन त, उक्त ब्यक्ती असाधारण क्षमता भएको हुनु पर्छ । जो सबैमा हुँदैन ।

स्वास्थ्यकर्मीहरुका चुनौतिका कुरा गर्नु पर्दा अर्को छ । पत्रकारहरुले सत्य, तथ्य नकेलाएर समाचार लेखिदिनु । राज्यको चौथौं अंगको रुपमा रहेको पत्रकारिताको यस्ता माहामारीको समयमा ठुलो भूमिका हुने कुरा नकार्न सकिँदैन । तर यही क्षेत्रमा रहेका केही पत्रकारहरु जसले पत्रकारिताको मर्यादालाई बिर्सिएर समाचार लेखिदिनु हुन्छ । त्यसले प्रत्येक्ष तथा अप्रत्यक्ष रुपमा ठुलो क्षति गरिरहेको हुन्छ । कुनै पनि पेशाकर्मीलाई आफ्नो पेशागत मर्यादा बिर्सेंर काम गर्ने अधिकार छैन । यदी पेशागत मर्यादा थाहा छैन । अथवा म त्यसको पालना गर्दिन भन्छु वा झुक्किएर पनि मर्यादा पालन गर्दैन भने उसले त्यसको सजाय भोक्नुपर्छ । र ऊ पेशाकर्मी कहलिन लायक हुँदैन । बिडम्बना हाम्रो सम्पूर्ण समाज त्यतिसम्म पनि सचेर भइसकेको अवस्था छैन । फलस्वरुप हामी यस्ता घटनाका प्रत्यक्षदर्शी भइरहनु परेको छ । त्यस्तै गरेर स्वास्थ्य जनशक्ति अभाव । त्यसै पनि दरबन्दी अनुसार पदपूर्ति सबै ठाउँमा नभएको अवस्था त्यसमा अब माहामारीको दबदबी बड्यो । पहिलेनै सिमित जनशक्तिले सेवा दिइरहेको अवस्थामा अब तिनै जनशक्तिले कामको बढ्दो चाप पनि थेक्नु पर्ने भयो । तिनै स्वास्थ्यकर्मीले कोरोना नलागेर्का कोरोना लागेका बिरामीलाई छुट्टा छुट्टै ठाउमा सेवा दिदा व्यवस्थापन गर्न नेतृत्व लिएका व्यक्तिलाई पनि कठिन परिरहेको अवस्थाछ । समस्या फेरी कहाँनेर जटिल भइदियो भने, कोरोना संक्रमितलाई सेवा दिएका स्वास्थ्यकर्मी पनि २ हप्ता क्वारेन्टाइनमा बस्नु पर्ने भो । उदाहरणको लागि कुनै एउटा प्रदेश अस्पतालको आईसियूमा १५ जनाले सेवा दिइरहेका थिए । त्यसमा अहिले ५ जना क्वारेन्टाइनमा, ५ जना उक्त आईसियूमा अनी बाँकी ५ जना कोरोना संक्रमित बिरामीका लागि कोभिड अस्पातलमा पठाउँदा, अब हामी अनुमान गरौ सेवाको गुणस्तर र स्वास्थ्यकर्र्मीको मनोदशा कस्तो होला ? एकछिन सोचाँै त यसले निम्त्याउने सकस सेवाग्राही र स्वास्थ्यकर्मीलाई व्यक्तिगत, पारिवारिक, समाजिक तवरमा सिङ्गो मुलुकलाई नै कस्तो होला ?

अब एकछिन मनोसामाजिक समस्याको कुरा गरौं । स्वास्थ्य क्षेत्रमा अरुतिर महिला पुरुषको सहभागीता लगभग उस्ताउस्तै जस्तो देखिन्छन । तर नर्सिङ्ग क्षेत्रमा झण्डै ९९ प्रतिशत जती महिला नै छन् । समस्याहरुको प्रभाव महिला र पुरुषमा उस्ता उस्तै नै हुन्छन । तर नेपाली समाजको संरचना केलाउँदा बिबाहित पुरुषलाई भन्दा महिलाका जिम्मेवारी दोब्बर हुन्छन । त्यसले गर्दा मारमा महिला स्वास्थ्यकर्मी परिरहेका हुन्छन । मनोसमाजिक समस्याबाट पनि बढी उनीहरुनै प्रभावित भइरहेका हुन्छन् । अधिकांश सक्रिय उमेर समूहका जनशक्तिहरुका घरमा बच्चा, बच्चीहरु हुन्छन । कसैको घर बच्चा हेर्ने मान्छे नभएर श्रीमान्, श्रीमती मिलेर दिउँसो र रातीको सिफ्ट मिलाएर काम गरिरहेका हुन्छन । तर अहिले त्यसरी काम मिलाएर गर्न सकिरहेका छैनन् । जसको असर उनीहरुमा परिरहेको छ । ६ महिनाको बच्चा छोडेर आमा क्वारेन्टाइनमा २ हप्ता बसिरा हुन्छ । उसको बच्चा र आमामा पर्ने समस्या, प्रोत्साहन भत्ताको कुरा आए पनी कती ठाउँमा कार्यान्वयन भइनसकेको हुँदा अन्यौलमा आर्थिक अवस्था छ । कती प्राइभेट सेक्टरमा काम गर्ने स्वास्थ्यकर्मीलाई जबर्जस्ती बिदा बसालिएका समाचार, काम गरेनी कमाई नभएको भन्दै तलब नदिएको तथा यस्तो अवस्थामा जागिरबाट निकालिएका समाचार आइरहेका छन् । यस्ता थुप्रै समस्याहरु छन् । जसले व्यक्तिको मनस्थिती खल्बल्याई दिन्छ । उक्त तनावपूर्ण अवस्थाले गर्दा उनीहरु आफुलाई सहयोगविहिन सम्झन्छन् । अनि सम्पूर्ण समस्याहरुको विकल्प खोज्न थाल्छन् । उपाय नै त्यही एउटा देख्छन “आत्महत्या“।

त्यसैले समसामाहिक समस्याहरुले मानसिक तनाब दिइरहेको हुन्छ । अनि त्यो मानसिक तनावले उग्ररुप लिएर मानसिक समस्या भइदिन्छ । फलस्वरुप अन्त्यमा उसले आत्महत्या गर्छ । आत्महत्या गर्नु कुनै कमजोर व्यक्तिको रोज्ने विकल्प हो, भन्ने कुरा बिल्कुलै गलत छ । यो हामीले बुझ्नै पर्छ । मान्छेले आफ्नो अगाडी केही नदेख्नुको कारण, त उसलाई आशा देखाइदिने साथको कमी भएको हो नि । मान्छे सामाजिक प्राणी भएकै कारण मानसिक रुपमा एक्लिदा उसले आत्महत्यालाई विकल्प देख्ने हो । विभिन्न संघ, संस्थाहरुले निकालेका रिपोर्ट अनुसार पनि हामी देख्न सक्छौं । लकडाउनको समय अबधी भरी नेपालमा मात्रै एकहजार बढी मान्छेले आत्महत्या गरेका छन् । जुन एकदम डरलाग्दो कुरा हो ।

चुनौतिहरु अझै कति धेरै छन् । हामी अनुमान लगाउन सक्दैनौं । जो त्यो समस्याबाट गुज्रिरहेको हुन्छ । उसैलाई थाहा हुन्छ । अथवा समसामाहिक भाषामा भन्नु पर्दा कि त, ती समस्याहरु भगवानलाई नै थाहा हुन्छन् । यहाँ त केबल केही प्रतिनिधि समस्याहरुको कुरा मात्र उठाउने प्रयास गरिएको हो । यस्ता चुनौतिका कुरा गरिरहदा हरेक व्यक्तिले यस्ता चुनौतिसँग लड्न आफ्नो जिम्मेवारी र भूमिका के हुन्छ, केलाउने र लागु गर्ने बेला हो । कुनै पनि माहामारी रोकथामको लागि एउटा पक्षमात्र जिम्मेवार हुँदैनन् । न त सरकार एक्लै केही गर्न सक्छन्, न त नागरिक एक्लैले । सरकारको मात्र मुख ताकेर मात्रै पनि केही हुँदैन । नागरिकहरुले नि साथ दिनु पर्छ, अनि सरकारले नि अभिभावकिय भूमिकामा उभिदिनु पर्छ । सरकारले गरेको काम नागरिकले उडाउने अनी सरकारले नागरिकलाई भेडा देख्ने प्रवृतिलाई अन्त्य गर्न जरुरी छ । हरेक व्यक्ति, क्षेत्र, समुदाय र सरकार मिलेर माहामारी बिरुद्ध लड्नु छ ।

आफ्नो स्रोत र साधनले भ्याएसम्मको आश गर्न जरुरी छ । स्रोत तथा साधनले सम्पन्न राष्ट्रसँग तुलना गर्नु भन्दा नि स्थानीय स्रोत तथा साधनलाई पहिचान गरी त्यसमा अनुसधान गरी बैज्ञानिक तवरले अगी बड्न जरुरी देखिन्छ । अरुले गरेको प्रयासलाई उडाउने समयमा हामी त्यसलाई सहयोग गर्न सक्छांैकी भनि सोची यस माहामारी बिरुद्ध जोमिने बेला होइन र यो ? कुनै कन्ट्रोभर्सी कुरामा बैज्ञानिक अध्यायन अनुसन्धान गरी तथ्य पत्ता लाउने अनि बैज्ञानिक तथ्य त्यस्तो केही नभेटिए त्यो कुरा सामाजिक सञ्जालमा राखेर जनचेतना जगाउन सकिन्छ । सबै बैज्ञानिक अनुसन्धानको जिम्मा पश्चिमाहरुले मात्रै त लिएका छैन होलानी । संधै उनीहरुले गरेको कामलाई पुरा बिश्वस्थ हुनलाई, हामी प्रश्न गर्न सक्छौं ? के थाहा उनीहरु शतप्रतिशत सहिनै होलान त ? उनीहरु सहिछन्, भन्नलाई त हामी पुर्वियले पनि अध्ययन गर्न जरुरी छ नि, होइन र ? हामी पनि आफ्नो ज्ञानले उनीहरुलाई चुनौती दिन सक्छौं । ज्ञान बढाउनको लागि पैंसा र सम्पन्ता चाहिँदैन । सिमित स्रोतमा पनि धेरै उत्पादन गर्न सकिन्छ । त्यसैले हरेक एक व्यक्तिले के गर्न सकिन्छ सोचेर हातेमालो गर्ने बेला होइन र ?

अन्त्यमा, स्वास्थ्यकर्मीको खस्कदो मनोबललाई मजबुद बनाउने जिम्मा हामी हरेक एक नेपालीको हो । ताकी हरेक दिन आत्महत्या गरेको घटनाहरुले समाचारका पानाहरु नओगटुन । यही माहामारीसँग लड्दै, नत स्वास्थ्यकर्मी नत अरुले नै आत्महत्या गरेको सुन्न परोस् । स्वास्थ्यकर्मीको मनोदशा ठीक रह्यो यो भने उसले सेवा दिने व्यक्तिको मनोबल पनि बढ्नेछ । अनि कोरोनाका बिरामी सबैले कोरोना बिरुद्धको लडाईं अवश्य जित्नेछन् । दिनरात नछुट्याएर सेवादिने उनीहरुको मनोबल उच्च राख्न सहयोग गर्नु हामी सबै नेपालीको कर्तव्य तथा जिम्मेवारी पनि होइन र ?  (ताताेपानी-४, जुम्ला हाल टाेखा-४, काठमाडाै‌)www.yugnews.comसाभार 

प्रतिकृया दिनुहोस्