RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/४ गते
११८४ पटक

काठमाडौं :  सरकारले असार २६ मा सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सञ्चालन गर्न तयार भएका हुन्।

आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले सोमबारदेखि यातायात सञ्चालन गर्ने बताएका छन्।  विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने बताए।

सरकारी निर्णयअनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उनले बताए। कोरोना भाइरस संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए।

अहिले अन्तर जिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन्। उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन्।

अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन्। व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन्।

प्रतिकृया दिनुहोस्